काठमाण्डाैँ । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री बन्न होड चलिरहेको छ । हालै नियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले पार्टीभित्रको दबाब र शक्ति सन्तुलनलाई मिलाउन भन्दै पाँच वटा मन्त्रालय रिक्त राखेका छन् ।

कांग्रेस सांसदहरू मन्त्री बन्न लबिङका लागि काठमाडौँमै बसेका छन् । प्रदेशको राजनीतिक स्थायित्व, समावेशी विकास र पारदर्शी शासनप्रति प्रतिवद्धता जनाएका मुख्यमन्त्री बनियाँलाई पार्टीभित्र शक्ति सन्तुलन मिलाउन चुनौतीपूर्ण बनिरहेको छ ।

मन्त्री छान्न साउन २१ गते राति काठमाडौँ पुगेका मुख्यमन्त्री बानियाँ हेटौंडा फर्किएका छैनन् । साउन २७ गते विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने तयारीमा रहेका उनी शीर्ष नेताहरूसँगको छलफलमा छन् ।

प्रदेशमा रहेका १४ मन्त्रालयमध्ये भागबण्डामा एमालेले ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाउने सहमति छ । सोही अनुसार गत साउन २० मै मुख्यमन्त्री बानियाँको एमालेका ६ र कांग्रेसबाट दुई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसकै कोटामा बाँकी ५ मन्त्रालयका लागि सांसदहरूको दाबी बढ्दो छ ।

कांग्रेसबाट श्याम बहादुर खड्का, बिमल ठकुरी र सुरजचन्द्र लामिछाने मन्त्री बन्न दौडधुपमा छन् । यसअघि नै मन्त्री बनेका उनीहरू शीर्ष नेताहरूको आशिर्वाद लिएर फेरि मन्त्री बन्न प्रयास गरिरहेका छन् ।

यस्तै, सुरेश श्रेष्ठ, कन्चनचन्द्र बादे पनि मन्त्रीका लागि दाबी गरिरहेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाको टिमबाट श्रेष्ठ मन्त्री बन्ने तयारीमा छन् । यसअघिको सरकारमै मन्त्री बन्ने तयारीमा रहेका उनलाई अन्तिम समयमा फिर्ता गरिएको थियो । गगन थापाको क्याम्पबाट यसअघि सुरजचन्द्र लामिछाने मन्त्री बन्दा श्रेष्ठ रोकिएका थिए ।

यता नेता प्रकाशमान सिंहको टिमबाट एकल उम्मेदवारको रूपमा बादे मन्त्रीको लबिङमा छन् । उनी कांग्रेस बागमती प्रदेशका महामन्त्री समेत हुन् । उनलाई हालै कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरिएको छ । संसदीय दलमा भर्खरै जिम्मेवारी पाएका भए पनि उनी सरकारमा जान प्रयासरत छन् । मन्त्री बनेपछि उनले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी त्याग्नुपर्ने हुन्छ ।

कांग्रेसभित्र समावेशीको मुद्दा उठिरहेका बखत बागमती प्रदेशको मन्त्रीका लागि सुना परियारको नाम पनि चर्चामा छ । महिला तथा दलित कोटामा उनी मन्त्री बन्न लविङ गरिरहेकी छिन् । नेता मीनबहादुर विश्वकर्मा टिमकी सांसद परियार प्रवक्ता प्रकाशशरण महतको त टिमसँग पनि निरन्तर सम्पर्कमा छिन् । मन्त्रिपरिषदलाई समावेशी बनाउन पनि उनलाई मन्त्री बनाउनुपर्ने भन्दै केही नेता सभापति शेरबहादुर देउवासमक्ष लबिङ गरिरहेका छन् ।

महिला मन्त्रीका लागि परियारसहित परराष्ट्र मन्त्री आरजु देउवा राणा निकट रहेकी विनु रायमाझी, प्रवक्ता महत निकटकी उर्मिला नेपाल केसी र गगन थापा टिमकी याङ्कीला शेर्पा समेत चर्चामा छन् । उनीहरू निरन्तर पार्टी केन्द्र र शीर्ष नेताहरूसँगको भेटघाटमा छन् ।

नेता शेखर कोइराला टिममा रहेका ४ सांसदमध्ये रमेशकुमार महत पनि मन्त्रीको लबिङमा छन् । कोइराला टिमबाट यसअघि उत्तम जोशी मन्त्री भइसकेका छन् भने अन्य २ सांसद गीता गुरुङ र रामकुमार पहाडीको नाम खासै चर्चामा देखिँदैन । यद्यपि यसअघि बहादुर सिंह लामाको मन्त्रिपरिषदमा गुरुङ सहकारी मन्त्री नियुक्त भएकी थिइन् । लामाले नयाँ सरकारमा आफ्ना केही सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् । लामाकै सूचीमा समेत गुरुङको नाम रहेको स्रोत बताउँछ ।

लामाको टिममा गोविन्द लाम्साल, माया श्रेष्ठ, तीर्थबहादुर लामा समेत मन्त्री बन्ने लाइनमा छन् । यद्यपि कांग्रेसमा हालसम्म मन्त्री दोहोरिएको रेकर्ड नभएकाले यसअघि नै मन्त्री बनेकाहरू दोहोरिने सम्भावना कम रहेको स्रोत बताउँछ ।

सभापति शेरबहादुर देउवाको कोटाबाट सांसद शिवराज अधिकारी मन्त्री बनिसकेका छन् भने कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको टिमबाट प्रभात लामा मन्त्री बन्ने प्रबल सम्भावना बोकेका पात्र हुन् । यसअघि नै मन्त्री नियुक्त भएर शपथ ग्रहण गर्न नपाएका उनलाई वर्तमान सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी दिने गरी अघि बढाइएको कांग्रेसका एक सांसदले बताए । तामाङको मन्त्री पद पक्का रहेको तर, विभाग भने सन्तुलन कायम गर्नुपर्ने अवस्थामा फरक पर्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार कांग्रेसबाट मन्त्री बन्ने लबिङमा रहेका रमेशकुमार महत पनि सोही मन्त्रालय पाउने पर्ने अडानमा छन् । मुख्यमन्त्रीसमेत रहेका बानियाँको टिमबाट कृष्णकुमार तामाङ प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनिसकेका छन् ।