धनगढी । कैलाली कारागार प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ । शुक्रबार भएको हिंसात्मक घटनापछि तनावग्रस्त बनेको कारागारमा कैदीबन्दीको गणना थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

“प्रशासन आफैँले गणना सुरु गरेको छ । कति कैदीबन्दी उपचार गर्न गए भनेर रुजु गर्न सुरु गरिएको हो । कारागारभित्रको अहिलेको अवस्था सामान्य बन्दै गएको छ,” उनले भने । शुक्रबार ब्लक ‘ए’का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो । अन्य ४९ जना घाइते भएका थिए ।

घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीका अनुसार, थप एक जनालाई उपचारका लागि काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । “हामी कागजपत्र मिलाउँदै छौँ । थप एकजनालाई रेफर गर्ने तयारी छ,” उनले भने ।

घटनापछि कैदीबन्दीले भित्रबाट ताला लगाएर थुनुवा कक्ष नियन्त्रणमा लिएका थिए ।