काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा हेरफेर गर्न लागेका छन्। मन्त्रिपरिषद् हेरफेरकै लागि आज (आइतबार) दिउँसो सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि र केही विवादास्पद गतिविधिका कारण मन्त्रीहरूको फेरबदल आवश्यक भएको निष्कर्ष प्रधानमन्त्रीले निकालेका हुन्। प्रधानमन्त्री निवास स्रोतका अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक सहित छलफल भएको थियो। ‘आजको छलफल मन्त्रीहरू हेरफेरकै सम्बन्धमा रहेको छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो। स्रोतका अनुसार साव १२ बजेदेखि प्रधानमन्त्री निवासमा उनीहरूबिच झण्डै दुई घण्टा छलफल भएको थियो। हालको मन्त्रिपरिषद्‌मा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (अशोक राई समूह), लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीहरू सहभागी छन्।

तर स्रोतको दाबीअनुसार प्रधानमन्त्री ओलीले केही पुराना अनुहार हटाएर नयाँ मन्त्रीहरू ल्याउने तयारी गरेपनि कांग्रेसको आन्तरिक राजनीतिले अप्ठेरो परेको थियो। ‘कांग्रेसले आफ्ना मन्त्रीहरूलाई हटाउन मानिरहेको छैन, प्रधानमन्त्रीले दुई साताअघि बाटै मन्त्रीहरू परिवर्तन गर्न चाहनुभएको हो’, निकट स्रोतले भन्यो । स्रोतका अनुसार आजको बैठक सिध्याएर नेताहरू निवास फर्किसकेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिएसँगै मंगलबार एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई मन्त्रीमा नियुक्त गरिएको छ। प्रधानमन्त्रीसँग निकट एक नेताका अनुसार जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह सुडीलाई हटाउने तयारी अन्तिम चरणमा पुगेको छ।

लोसपाका शरदसिंह भण्डारीलाई पार्टी फिर्ता बोलाएर अर्को नेतालाई सरकारमा पठाउने तयारी भएको छ। सुडीको स्थानमा मा कसलाई पठाउने भन्ने विषयमा टुंगो लागिसकेको छैन भने पार्टीभित्र रञ्जु झालाई मन्त्री बनाउन लबिङ भइरहेको छ। जसपाले दुई महिनाअघि नै आफ्ना दुई मन्त्री फेर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । लोसपाले पनि प्रधानमन्त्रीलाई मन्त्री हेरफेरको दबाब दिइरहेको छ।

कांग्रेस र एमाले नेतृत्व अलग–अलग छलफलमा व्यस्त छन् भने प्रधानमन्त्री ओलीले सरप्राइज दिने शैलीमै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका भएपनि सहयात्री दल कांग्रेसले आफ्ना नेताहरूलाई फिर्ता बोलाउन चाहिरहेको छैन।