काठमाण्डाैँ । मिर्गौला बेचबिखनमा परेका युवा मध्ये थप दुई जना प्रहरी सम्पर्कमा आएका छन् । उनीहरु शुक्रबार मानव बेचबिखन विरुद्ध ब्युरोमा आइपुगेकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार यसरी आउनेमा काभ्रेका एक र नुवाकोटका एक जना युवा छन् । थप दुईसहित हालसम्म सम्पर्कमा आउने पीडितको संख्या पाँच जना पुगेका हुन् । गत साता सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेल प्रहरी सम्पर्कमा आएका थिए ।  

थप दुई जना सोमबार जाहेरी दिने तयारीमा रहेको मानव बेचबिखन विरुद्ध ब्युरोका प्रहरी उपनिरीक्षक कृष्ण प्रसाद पंगेनीले बताए । उनका अनुसार थप पीडित सम्पर्कमा आउने सम्भावना बढेर गएको छ । सम्पर्कमा आएका मिर्गौला बेचबिखनमा परेका युवाहरू मध्येमा दुई जनालाई मिर्गौला बिक्री पछि कत्ति पनि पैसा नदिएको र बाँकीलाई न्यूनतम पैसा दिएर बाँकी पैसा नदिएका पीडित छन् ।  

केही दिन अघि मिर्गौला बेचबिखनमा परेका युवा प्रहरी सम्पर्कमा आएपछि प्रहरीले गिरोहको खोजी कार्य सुरु गरेको थियो । लगत्तै गत साता चार जना गिरोहलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरू नुवाकोटका दुई जना र र काभ्रेका दुई जना छन् । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार र राजेश परियार छन् भने काभ्रेका राज कुमार परियार छन्। पक्राउ पर्ने एक जनाको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

गिरोहले काभ्रे, नुवाकोट,सिन्धुली बाहेक अन्य जिल्लामा पनि मिर्गौला बेचबिखन गरेको अनुमान गरेको छ । हालसम्म ५० जनाभन्दा बढी भारतको दिल्ली ,चण्डीगढ र नोयडा लगायतका स्थानहरूमा लगी मिर्गौला बेचबिखन गरेको पाइएको छ । गाउँका आर्थिक स्थिति कमजोर भएका युवालाई लगेर मिर्गौला बेचबिखन गर्ने गिरोहको लक्षित अपराध रहेको पाइएको उपनिरीक्षक पंगेनीले बताए । उनको अनुसार प्रति मिर्गौला बिक्री बापत ७ देखि ८ लाख दिने प्रलोभन दिने गरेका छन् । तोकेको मूल्य फिर्ता नदिएपछि र कतिलाई रित्तै पठाएपछि घटना बाहिर आएको देखिन्छ । नागरिक