काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रस्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

उनले यस्ता टिप्पणीलाई कच्चापन र बचपनाको संज्ञा दिए । असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुरा नगर्न नेताहरूलाई उनले आग्रह गरे ।

पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा ०६६ सालमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ ।

नेता नेपालले ०६६ माघ १८ गते मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलिलाई ८१५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै ०६६ चैत ६ मा उक्त जमिन बेच्न स्वीकृति दिएको आरोप छ ।

यो निर्णय कानुनविपरीत र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । नेपालको सांसद पद निलम्बित छ ।

उनले पार्टी नेताहरूले उक्त मुद्दा माधव नेपालमाथि मात्र नभई एकीकृत समाजवादीविरुद्ध नै लगाइएको भन्ने टिप्पणी गरिरहेको भन्दै यो गलत रहेको बताए । सबैलाई लगाइएको राजनीतिक मुद्दा भनेर बेतुकका कुरा गर्नु उचित नहुनेमा उनले जोड दिए ।

अध्यक्ष नेपालमाथि १९ करोड रुपैयाँबराबरको मुद्दा लगाइएको र आफूले उनलाई कसरी बचाउने होला भनेर सोचिरहेको खनालले बताए ।