काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ । त्यसमा पनि सोमबार शिवजीको बार मानिन्छ ।  आज साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भिड लागेको छ।

साउनको सोमबार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।

भक्तजनहरुले पशुपतिनाथमा भजनकिर्तनसहित नाचगानसमेत गरिरहेका छन्। विवाहित महिलाले श्रीमान्‌को दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनासहित साउनमा महादेवको व्रत बस्ने गर्दछन् ।

साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् । साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भिड छ ।