
अमेरिका । अमेरिकाको टेक्ससमा तीन जना नेपालीको गोली काण्डमा मृत्यु भएको छ । टेक्सस राज्यको डालास सहरमा हत्यापछि आत्महत्या गोली काण्डमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
स्थानीय समय अनुसार शनिबार बिहान २ बजेर १० मिनेटमा डडली स्ट्रिटको १९०० ब्लकमा गोली काण्ड भएको डालास प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रहरीका अनुसार ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेका थिए ।
ललितले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको र ललितलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो ।
ललितले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए । ललितले घटनाको एक दिन अघि मात्र आफू लामो समयदेखि तनावमा रहेको र काममा समेत उपस्थित हुन नसकेको बारे आफ्नो फेसबुकवालमा पोष्ट गरेका थिए ।
‘मैले र मेरो परिवारले सरकारी सेवाहरु प्राप्त गर्न सकेका छैनन्, जसका कारण मैले र मेरो परिवारले कडा परिश्रम गर्न बाध्य भएका छौं,’ उनले आफ्नो फेसबुक पोष्टमा लेखेका थिए ।
नेपाली समाज टेक्सस (एनएसटी)का महासचिव विजय भुसालका अनुसार ललित भुटानी शरणार्थी र रञ्जना नेपाली भएको प्रारम्भीक जानकारी प्राप्त भएको बताए । ‘घटनाबारे प्रहरीसँग निरन्तर जानकारी लिने र नेपालमा आफन्तसँग समन्वय गर्ने प्रयास भइरहेको छ’ उनले भने, ‘हामी संस्थागत रुपमै आफन्तसँग जोडिने प्रयासमा छाैँ, शव नेपाल पठाउनेबारे पनि प्रयास भइरहेको छ ।’
प्रहरीले हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकोबारे जानकारी दिएको र एनएसटीले नेपालमा आफन्तसँग समन्वय गराउन मात्र कोशिस गराएको भुसालले बताए ।
यसअघि दुई महिनाअघि जुन ५ मा भर्जिनिया राज्यमा पर्ने मनासस सहरमा एकै परिवारका चार जना नेपाली मृत फेला परेका थिए । मनासस घटनामा पनि प्रहरीले हत्यापछि आत्महत्या भएको जनाएको थियो । प्रहरीका अनुसार मनासस घटनामा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीया बालिकाको गोली प्रहारबाटै मृत्यु भएको थियो ।
मनासस प्रहरीले घटनाबारे हालसम्म एकिन तथ्य सार्वजनिक गरेको छैन । घटनाबारे अनुसन्धान भइरहेको र तथ्य प्रमाणहरु संकलन जारी रहेको प्रहरीले जनाएको छ । एजेन्सी







Facebook Comments