
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको छ । आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा रविलाई न्यूनतम सुविधा नदिएको पाइएको हो ।
अनुगमनबाट निस्किएपछि सदस्य थापाले रूपन्देही कारागारको २५० जनाको क्षमता रहेकोमा ७०० कैदी राखिँदा कैदीहरूको मानव अधिकारको अवस्था दयनीय रहेको बताइन् ।
“रवि लामिछानेलाई छुट्टै त राखिएको छ, तर एउटा झ्यालमा समेत कपडाले बारिएको छ,” थापाले भनिन्, “सर्पको जोखिम भएकाले सुरक्षाका लागि त्यसो गरिएको भनिएको छ । हामीले तत्काल खोल्न भनेका छौँ ।”
उनले ठूलो कोठामा त्यहीँ बाथरुम, त्यहीँभित्र ट्वाइलेट एट्याच रहेको र सुरक्षाको कारण भनेर बाहिर घुमफिर गर्न नदिइएको पाइएको बताइन् ।
मानव अधिकार आयोगकी सदस्य थापाले राजनीतिक बन्दी भएकाले जेल सार्नका लागि गरेको आग्रहलाई पनि राज्यले अस्वीकार गरेको बताइन् । अदालतले अनुमति दिइसकेपछि पनि जेल सार रोक्नुले उनको मानव अधिकारको सम्मान नगरिएको थापाको भनाइ छ ।
थापाले रविको एउटै कोठामा पढ्ने, नुहाउने, ट्वाइलेट जाने र सुत्ने व्यवस्था रहेकाले मानव अधिकारको सुनिश्चितता नभएको सुनाइन् ।
उनले अन्य कैदी बन्दीसँग पनि भेटेर कुरा गरेको भन्दै अन्य कैदी बन्दीको अवस्था भयावह रहेको बताइन् ।







Facebook Comments