काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले महाधिवेशन गर्न नसकेका सात भ्रातृसंस्थाका महाधिवेशन निर्देशन समितिसँग छलफल गरिरहेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माले सात भ्रातृसंस्थाका महाधिवेशन निर्देशन समितिका पदाधिकारीहरूसँग छलफल गरिरहेका हुन् ।

कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशन गराउन केन्द्रीय समितिमा रहेका तीन नेतालाई समेटेर एक नेतालाई संयोजक र दुई सदस्य रहेको महाधिवेशन निर्देशन समिति बनाएको छ ।  कांग्रेसका सात भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल थारू सङ्घ र नेपाल किसान महासंघले पटक– पटक म्याद थप्दा पनि महाधिवेशन गर्न सकेका छैनन् ।

यी भ्रातृसंस्थाको महाधिवेशन निर्देशन समितिको संयोजकहरूमा तरुण दल सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघ सहमहामन्त्री किशोरसिंह राठोर, महिला सङ्घ प्रवक्ता डा.प्रकाशशरण महत, नेपाल दलित सङ्घ सहमहामन्त्री जीवन परियार, नेपाल किसान महासंघ केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नेपाल थारू सङ्घ केन्द्रीय सदस्य उदयशम्शेर राणा छन् । यी संयोजक सदस्य र तदर्थ समितिका अध्यक्षहरूसँग सभापति देउवा, उपसभापति खड्का र महामन्त्री शर्माले छलफल गरिरहेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको गत असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तिम पटकका लागि महाधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाको म्याद थप्ने र महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । बैठकले निर्देशन समितिले गर्नुपर्ने कामका सन्दर्भमा पार्टीको तर्फबाट कार्यादेश उपलब्ध गराउने निर्णय पनि गरेको थियो । केन्द्रीय समितिको निर्णयबारे शुक्रबार सभापति देउवाले उपसभापति खड्का र दुई महामन्त्रीसँग छलफल गरेका थिए ।

आजको बैठकपछि निर्देशन समितिलाई कार्यादेशको पत्र दिने तयारी कांग्रेसको छ ।