
काठमाडौं । कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्टको मृत्यु भएको ठिक एक हप्ता भयो । गएको आइतबार बेलडाँडी गाउँपालिका–२, सिहपालटोलकी सम्झना आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
सम्झनाका आमाबुवाले उनको मृत्यु अस्वाभाविक भनेका छन् । उनीहरूले सम्झनाका श्रीमान्सहित सासू, ससुरा र सासूदिदीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले सम्झनाका श्रीमान् २४ वर्षीय पवन भट्ट, उनका बुवा हरिदत्त, आमा किरण र पवनकी दिदी पूजालाई पक्राउ गरेको छ । पूजालाई आइतबार परिवारका अरू सदस्यलाई सम्झनाको मृत्युको तेस्रो दिनमा पक्राउ गरेको हो । महाकाली अस्पतालमा गरिएको सम्झनाको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।
सम्झनाका आमाबुवाको जाहेरीका आधारमा पवनको परिवारलाई पक्रेर अनुसन्धान गरिएको कञ्चनपुर प्रहरी प्रमुख एवं एसपी खडक खत्रीले बताए ।
लामो समय प्रेम सम्बन्धमा रहेका सम्झना र पवनबीच गएको फागुनमा विवाह भएको थियो । बिहेपूर्व पनि उनीहरूबीचको सम्बन्ध राम्रो नभएको पत्ता लागेको प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका–६ की सम्झना र पवन बिहे हुनुपूर्व समेत झैझगडा भएर प्रहरीमा आएका एसपी खत्रीले बताए ।
दुई वर्षअघि सम्झना आफूमाथि दुर्व्यवहार गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । साउन १८ मा झुन्डिनुअघि समेत उनी इलाका प्रहरी कार्यालय बेलडाँडी पुगेको खुलेको छ । त्यति बेला प्रहरीले श्रीमान्–श्रीमतीको झगडा भनेर सामान्य छलफल गराएर फर्काएको थियो ।
सम्झनाको मृत्युपछि भने प्रहरीले पवनका आमाबुवा र दिदीलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
सम्झनाको माइतीपक्षले विवाहपछि दाइजोको निहुँमा पवन र उनको परिवारले निरन्तर शारीरिक र मानसिक यातना दिने गरेको प्रहरीसमक्ष जिकिर गरेको छ । त्यही यातना र पारिवारिक दबाबका कारण घटना भएको आंशका छ ।
बेलडाँडी–२ का वडाध्यक्ष नारदसिंह अर्यालले सम्झनाको शव साउन १८ गते बिहान करिब १० बजे घरमा फेला परेको बताए । घटनामा आत्महत्या दुरुत्साहनसम्बन्धी केही प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।







Facebook Comments