
काठमाडौं । तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । परिवार कल्याण महाशाखाका अनुसार संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू मधेस, कोशी र लुम्बिनी रहेका छन् ।
बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् । संक्रमितमध्ये २० महिला र १३ पुरुष छन् ।
मृतकमध्ये मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुष छन् । खोप शाखाका डा. अभियान गौतमका अनुसार यसपटक संक्रमण विशेषगरी खोप नलगाएका समुदायमा बढी देखिएको छ ।
केही समय अघि पूर्वका जिल्लामा देखिए पनि पछिल्लो चरणमा मधेस र कोशी प्रदेशसँगै लुम्बिनी प्रदेशमा फैलिएको छ । विभागका तथ्यांक अनुसार जेईको परीक्षण ६८६ जनाको गरिएको मध्ये ३३ जनालाई संक्रमण पुष्टि भएको हो ।
जसमध्ये मधेशमा १० , कोशीमा ९, लुम्बिनीमा ९, बागमतीमा ४, गण्डकीका १ जना संक्रमित भएका छन् । ‘तराई बेल्ट यसको लागि एकदम अनुकूल क्षेत्र हो , धान खेती हुने, वरिपरि सुँगुर वा हाँस पालन हुने ठाउँमा यसको जोखिम उच्च हुन्छ,’ डा. गौतमले भने ।
संक्रमणको जोखिम देखिएपछि स्वास्थ्य निकायले तीन महिना अघि नै अस्पतालहरूलाई ‘क्लिनिकल प्रोटोकल’ र उपचार निर्देशिका उपलब्ध गराएको उनले बताए ।
‘प्रमुख अस्पतालका चिकित्सकलाई ओरिएन्टेसन दिइएको र आइसियूमा पुगेका बिरामीको निरन्तर फलोअप भइरहेको छ,’ डा. गौतमले भने, संक्रमितलाई तत्काल सही उपचार दिई निको पार्न सकियोस् भन्ने लक्ष्यका साथ सक्रिय छौँ ।’
उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, मांसपेशी कडा हुनु, अचेत हुनु लक्षण हुन् । यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ । तर यो भाइरस विरुद्धको खोप भने उपलब्ध छ । मनसुनको समयमा यो रोगको जोखिम बढी हुने हुन्छ ।
वर्षायाममा बढी आद्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ । जसले संक्रमणको जोखिम बढाउँछ । ‘साउन, भदौ, असोजमा महिना जेइ को संक्रमणदर उच्च हुन्छ ।
जाडो महिनामा बिस्तारै संक्रमणका केस घट्दै जान्छन्,’ उनले भने । जेईको नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।
चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने,घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन । साथै पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सक सुझाव दिन्छन् ।




_eDRH6Bm5KD.jpg)


Facebook Comments