
काठमाण्डाैँ । भीरबाट लडेर ज्यान गुमाएका एकै घरका दुई बालबालिकाको पोस्टमर्टम नगरी अन्त्येष्टि गरिएको भन्दै प्रहरीले खोटाङमा गाडिएको शव निकालेको छ।
खोटाङको दिप्रुङ चुइचुम्मा ३ छोरम्बुका गोविन्द बस्नेत (नवराज) की ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेघराजको शव प्रहरीले आइतबार खनेर निकालेको हो। लगत्तै पोस्टमर्टमका लागि सदरमुकाम ल्याइएको खोटाङ प्रहरीका निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।
‘अहिलेसम्म पोस्टमर्टम भएको छैन। कानुनी प्रक्रिया पूरा गर्ने काम हुँदैछ,’ मिश्रले भने, ‘अहिले मृतक बालबालिकाका बुबा पनि सदरमुकाम आउँदै हुनुहुन्छ। सम्भव भए आजै नत्र भोलि बिहान पोस्टमर्टम हुन्छ।’
दुर्घटना वा आत्महत्याका घटनामा ज्यान गुमाएकाहरूको अनिवार्य शव परीक्षण गर्नुपर्ने कानुनी प्रावधान पूरा गर्न प्रहरीले शव उत्खनन् गरेर नियन्त्रणमा लिएको उनले जानकारी दिए।
दिप्रुङ चुइचुम्मा ३ का वडाध्यक्ष भूपेन्द्र बस्नेतले प्रहरीले शव उत्खनन् गरेर पीडित परिवारलाई झनै दुःख दिएको भन्दै गुनासो गरेका छन्।
‘मृतकका बुवा मेरा काका हुन्,’ उनले फोनमा भने, ‘एकातिर दुई दुई जना छोराछोरी गुमाएको पीडा छ। अर्कातिर प्रहरीले फेरि कानुनी झमेला लगाइदिएको छ। अहिले उहाँ सदरमुकाम लाग्नुभएको छ।’
वडाध्यक्ष बस्नेतले दिएको जानकारी अनुसार साउन २२ गते बिहीबार बिहान गोविन्दको घरमा डिसहोम जडान गरिएको थियो। गाउँकै शान्ति निकेतन मिनाकर्ण माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा काम गर्ने गोविन्द त्यसदिन बिहान छोराछोरीलाई ‘आउँदै गर है’ भन्दै स्कुलतिर लागेका थिए।
‘घरबाट त्यही १० मिनेट जति पैदल दुरीमा स्कुल छ, उहाँको श्रीमतीले एक वर्ष अघि अर्कैसँग बिहे गरेर गएपछि तीन छोराछोरी र उहाँमात्रै घरमा हुनुहुन्थ्यो,’ वडाध्यक्ष बस्नेतले भने ‘त्यसैले सधैं आफूसँगै नानीहरू पनि स्कुल लिएर जानुहुन्थ्यो।’
डिसहोम जडानको कामले त्यसदिन ढिला भएपछि उनी हतारहतार स्कुल लागेका थिए। स्कुल पुगेर कोठाहरू खोल्ने, सरसफाइ गर्नुपर्ने जिम्मा भएका उनी हिँडेपछि उनका दुई छोरी र १ छोरा स्कुल आएनन्।
‘टिभी जोडेकाले टिभी हेरेर बसे होलान् भनेर उहाँले पनि वास्ता गर्नुभएनछ,’ वडाध्यक्ष बस्नेतले थपे, ‘छोराछोरीहरू चाहिँ छिमेकका अरू तीन जनासँगै साप्सुखोला तरेर अझै परसम्म पुगेर फर्केछन्।’
ती बालबालिकाहरूले घर फर्किँदा बाटो बिर्सेर दिप्रुङचुइचुम्माकै २ नम्बर वडाको खमारे पुगेका थिए।
‘त्यहाँका स्थानीयबासीले सोधेर गाउँ जाने बाटो देखाएपछि उनीहरू अघि बढेछन्,’ वडाध्यक्ष बस्नेतले भने, ‘त्यही क्रममा हाम्रो काकाका जेठी छोरी र छोरा हराएछन्। माइली छोरी सहितका चार जना अरू बालबालिका चाहिँ बाटोको एउटा ओढारमा भेटिएका थिए।’
छोराछोरी खोज्दै जाने क्रममा बुबा गोविन्दले सापतेलको जंगलभित्र रहेको खरूवा खोला नजिकै छोरीको शव फेला पारेका थिए भने त्यहाँभन्दा केहीमाथि छोराको शव भेटिएको थियो।
त्यसदिन रातभरी गाउँलेले रुँघेर भोलिपल्ट शुक्रबार उनीहरूको अत्येष्टि गरेका थिए। सदरमुकामबाट २५ कोस टाढा रहेको गाउँका सबैले भीरबाट लडेर बालबालिकाले ज्यान गुमाएको ठहर गरेपछि उनीहरूको अन्त्येष्टि भएको थियो।
भीरबाट लडेर ज्यान गुमाएका बालबालिकाको शवको पोस्टमर्टम नै नगरी अन्त्येष्टि गरिएको थाहा पाएको प्रहरीले त्यसपछि चासो राख्दै टोली परिचालन गरेको थियो।
जिल्लाबाट परिचालित टोलीले गाउँले, परिवार र जनप्रतिनिधिको आग्रह अस्वीकार गर्दै शव खोतलेर सदरमुकाम लगेको थियो। प्रहरी निरीक्षक मिश्रले आफूहरूले बालबालिकाले भीरबाट लडेर ज्यान गुमाएको सूचना पाएको बताउँदै अनुसन्धान थालिएको जानकारी दिए।
‘हामीलाई अहिलेसम्म त्यही सूचना प्राप्त भएको छ,’ उनले भने, ‘घटनाको अनुसन्धान सुरू भइसकेको छ। शवको पोस्टमर्टम भएपछि थप कुरा खुल्नसक्छ।’







Facebook Comments