काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक-२०८० को प्रतिवेदनमा भएको त्रुटिबारे अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गरेका छन् ।

सभामुख घिमिरेले सोमबार सत्तारुढ एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग अलग अलग छलफल गरेका हुन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएको सभामुखको सचिवालयले जनाएको छ । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह समेत गरेका छन् ।

राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवका रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै उनले समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे । नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।

सभामुखले गएको शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए । सभामुखले भोलि पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक राख्ने तयारी गरेका छन् ।