
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयासले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने विश्वास व्यक्त गरेका हुन्।
उनले युवा दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको उल्लेख गरेका छन्। ‘आज अन्तर्राष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान,अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो। पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ।’, सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिँदै उनले भनेका छन्, ‘फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ। संसारभरका युवाहरुलाई शुभकामना !’
आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ। राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष माधव ढुंगेल भएपछि उनको अगुवाइमा २०७३ सालदेखि नेपालमा युवा दिवस मनाउन थालिएको हो।







Facebook Comments