
काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले उनका आमा र बहिनीलाई झिकाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका विपिनका आमा पद्मा र बहिनी पुष्पा सोमबार बेलुकी इजरायल पुगेका हुन् ।
‘हामी विपिनलाई लिन आएका हौं, सबैले मद्दत गर्नोस्,’ तेल अविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनासाथ कयौं अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई पद्माले भक्कानिएर रुँदै भनिन्, ‘मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, मेरो सबैमा विनम्र अनुरोध छ ।’
विपिनकी बहिनी पुष्पा पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । उनले पनि आँसु झार्दै अपिल गरिन्, ‘हामी धेरै टाढाको देश नेपालबाट दुःख गरेर आएका छौं, मेरो दाजुलाई बिनासित्ती नराख्नुस् । ऊ पढ्नका लागि मात्र यहाँ आएको हो । हाम्रो कसैसँग दुस्मनी छैन ।’ विपिनका आमा र बहिनीलाई लिन विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, नेपालका लागि पूर्वराजदूत हानन गोदार, इजरालयका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका साथै थुप्रै नेपाली पुगेका थिए ।
इजरायली विदेश मन्त्रालयका अधिकारीका अनुसार दुवै जनालाई प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा खटिएका कमान्डहरूसँग भेट गराउनुका साथै विपिनलाई हमास लडाकुले बन्धक बनाएको दक्षिण इजरायलको किबुजमा लगेर घटना के कसरी भएको थियो भन्ने जानकारी गराइनेछ । त्यसपछि इजरायल सरकारकै पहलमा उनीहरूलाई राष्ट्रसंघमा उपस्थित गराई विपिनलाई छुटाउनका लागि दबाब बढाइदिन आग्रह गर्न लगाइनेछ ।
इजरायली विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीले विपिनको रिहाइका लागि राष्ट्रसंघमार्फत पहल र दबाबका लागि आग्रह गर्ने योजना रहेको बताएका छन् । ‘हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना जीवित रहेको अनुमान छ,’ कार्नीले इजरायल भ्रमणमा रहेका नेपाली पत्रकारसँग भनेका छन्, ‘ती २० जनामध्ये को जीवित छन् र क–कसको मृत्यु भइसकेको छ, हामी प्रस्ट भन्न सक्ने अवस्थामा छैनौं ।’
हमासले ७ अक्टोबर २०२३ मा किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २५१ जनालाई बन्धक बनाइएको थियो । अझै हमासले बिपिनसहित ५० जनालाई फिर्ता गरेको छैन । हमासको उक्त आक्रमणमा परी किबुजमै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । हमास लडाकुको ग्रिनेड उनीहरूतर्फ नै प्रहार गरेर कयौंको ज्यान बचाएका घाइते विपिनलाई बन्धक बनाएर लगिएको थियो । विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल गएका थिए ।
विपिनसहित बन्धक बनाइएकालाई २२ महिनासम्म पनि हमासले फिर्ता नगरेपछि दबाब बढाउन इजरालय सरकारले गत बिहीबारदेखि गाजाक्षेत्र पूर्ण नियन्त्रणमा लिने घोषणाका साथ सैन्य कारबाही सुरु गरेको छ । विपिनलगायत हमासको कब्जामा रहेका ५० जना फिर्ता पाउनुपर्ने, गाजालाई सदासदाका लागि हमासमुक्त बनाउनेलगायत प्रधानमन्त्री नेतान्याहुको पाँचबुँदे घोषणासहित इजरायलले गाजामाथि आक्रमण थालेको हो ।
उनीहरूलाई काठमाडौंमा इजरायली राजदूत शमुलिक एरी बास विमानस्थलसम्मै पुगेर बिदाइ गरेका थिए । इजरायलका लागि उड्नुअघि विमानस्थलमा आमा पद्मा भक्कानिएकी थिइन् । ट्रान्जिट दुबई विमानस्थलमा पुगेपछि बहिनी पुष्पाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफूहरूलाई उत्तिकै समर्थन गरिराख्न र दाजु विपिनका लागि प्रार्थना गर्न सबैलाई अपिल गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म दाजुको सकुशल रिहाइको प्रतीक्षामा छु ।’
हमासविरुद्धको सैन्य कारबाहीमा खटिएका ‘इजरायल स्पेसल फोर्स’ का क्याप्टेन नादभ बेन याहुदाले विपिनको रिहाइमा कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् । ‘विपिनले आतंकवादीकै ग्रिनेड आतंकवादीलाई नै प्रहार गरेर धेरैको ज्यान बचाएका छन् । उनी वीर हुन्, नेपाली र इजरायलीका लागि हिरो हुन् । उनको रिहाइका लागि सक्दो प्रयास गर्नेछौं,’ काठमाडौंस्थित इजरायली दूतावासका सल्लाहकारसमेत रहेका नादभले इजरायल पुगेका नेपाली पत्रकारसँग भनेका छन्, ‘आतंकवादीबाट फिर्ता गराई विपिनलाई लिएर म आफैं काठमाडौं आउनेछु, त्यसमा हामी सफल हुने छौं भन्ने मलाई विश्वास छ ।’
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनका आमा र बहिनीलाई इजरायल सरकारले विशेष महत्त्वका साथ भेटघाट गराउने र रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आवश्यक सबै पहल गर्ने जानकारी गराएको बताए । ‘विपिनको पछिल्लो अवस्थाबारे इजरायल सरकार वा अन्य स्रोतले प्रस्ट भन्न सकिरहेका छैनन्, हमासका तर्फबाट पनि केही सार्वजनिक भएको छैन,’ राजदूत पण्डित भन्छन्, ‘२० भन्दा बढी व्यक्ति जीवितै रहेको भन्ने अनुमानचाहिँ इजरायली अधिकारीहरूको छ ।’
इजरायल र हमासबीच केही दिनका लागि भएको युद्धविरामका बेलामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल खुलाइफीसँग फोनमार्फत आग्रह गरेकी थिइन् । उनले नेपालका लागि इजरायली राजदूत बासमार्फत इजरायल सरकारसमक्ष पनि रिहाइका लागि आग्रह गर्दै आएकी छन् ।
त्यतिबेला राजदूत बासले मन्त्री राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका तथा नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेको समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी गराएका थिए । हमासले केही बन्धकलाई रिहाइ गरे पनि विपिन परेनन् । विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परिवारले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई पटक–पटक भेटिसकेको छ । परिवारले इजरायली राष्ट्रपति आइजेक हर्जोकसँग भर्चुअल कुराकानी पनि गरिसकेको छ । नेपालस्थित इजरायली राजदूत बासले पनि पटक–पटक भेट गरी परिवारलाई इजरायल हुँदै राष्ट्रसंघसम्म पठाउन पहल गरेका हुन् । कान्तिपुर







Facebook Comments