
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल वाकयुद्धमा उत्रिएपछि विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका छन् ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत दोस्रो तहको नेताहरूको सक्रियतापछि शनिबारयता उनीहरूबीच दुई चरणको भेट भइसकेको छ । शनिबार अध्यक्ष नेपाल पार्टीको कार्यक्रममा जानुपर्ने भएकाले छोटो भेट मात्रै भएको थियो । तर, सोमबार दुई नेताहरुबीच पार्टीभित्र देखिएको समस्या समाधान गरेर जान सहमत भएका छन् ।
दुई नेताबीचको भेटबारे उपमहासचिव राजकुमार भट्टराईले भने, ‘पार्टीका दुई शीर्ष नेताहरूबीचको यो नियमित भेट हो । बाहिर चर्चा भएजस्तो पार्टीभित्र विवाद छैन । सबै कुरा मिल्छन् ।’
दुई नेताबीच अब सार्वजनिक रूपमा एकअर्काविरुद्ध नबोल्ने र बाँकी कुरा पार्टी बैठकमा छलफल गर्न पनि तयार भएका छन् । सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्षमा पनि औचित्य पुष्टि गर्न नसकेको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपाल चिढिएका थिए ।
विवादका बीच दुई नेताहरूले एकअर्कालाई पार्टी छाडेर एमालेमै जान समेत भन्न भ्याए । दुई नेताबीचका विवादको जड यति मात्रै नभएर सचिवालय बैठकले अध्यक्ष नेपालविरुद्ध खनालले राखेको लिखित प्रस्ताव पनि थियो ।
भ्रष्टाचारको मुद्दा लागेपछि नेता खनालले अध्यक्ष पद छाड्नुपर्ने र यो मुद्दाको भारी पार्टीले नबोल्ने भन्दै लिखित दस्ताबेज पेस गरेका थिए । उनले त्यो प्रस्तावमाथि पनि छलफलको माग गरिरहेका छन् । दुई नेताबीच सहमतिपछि हिजो केन्द्रीय अनुशासन आयोग शिवबहादुर देउजाले विज्ञप्ति जारी गर्दै पार्टीको विधि र पद्धतिविपरीत जथाभाबी नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीमा आफ्ना निजी विचार र सुझावहरू राख्ने विधि र स्थानहरू छन् भन्ने कुराको हेक्का राख्दै पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न सम्बन्धित सबै कमरेडहरूको ध्यानाकर्षण गरिन्छ ।’
पार्टीको नीतिविपरित धारणा राखे विधान अनुसार अनुशासनको कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएका छन्।







Facebook Comments