
काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्रै नभएर सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री अधिकारीले पारिवारिक खेतीलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए। उनले जलवायु स्मार्ट कृषि प्रविधि, उन्नत बीउबिजन, कृषि अनुसन्धानमा लगानी, किसान उद्योग र बजारको एकीकृत प्रणाली, वित्तमा पहुँच, सहुलियत ऋण, बीमा र किसान कोषजस्ता कार्यक्रमहरू आवश्यक रहेको औँल्याए।
मन्त्री अधिकारीले नेपालको पहाडी र पर्वतीय कृषिले जलवायु अनुकूलन र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्वपूर्ण जानकारी दिन सक्ने दाबी गरे। साना किसानले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच पाउनका लागि कृषि उपजमा लाग्ने करमा लचकता अपनाउनुपर्ने र न्यायसंगत व्यापारको अवसरलाई सामूहिक रूपमा वकालत गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
उनले नेपालमा साना किसानको आवश्यकतालाई प्राथमिकता दिने नीति निर्माण र अनुभव आदानप्रदानका लागि क्षेत्रीय साझेदारी जरुरी रहेको पनि बताए। उनले नेपाल दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माण गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।







Facebook Comments