
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा दीपक अर्याल उपकुलपति नियुक्त भएर आएयता माओवादीनिकट अखिल क्रान्तिकारीले पदाधिकारीलाई अवरोध गर्दै आएको छ ।
क्रान्तिकारीको त्रिवि जिल्ला समितिले अर्यालसहित, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाललाई कार्यालय आउजाउमा अवरोध गरेको हो ।
क्रान्तिकारीका कार्यकर्ताले सोमबार रेक्टर र रजिस्ट्रार कार्यालयमा समेत तोडफोड गरी क्षति पुर्याएको एक कर्मचारीले बताए । केन्द्रीय विभागमा समायोजन भएका ४ वटा विभागहरुको शुल्क घटाउन माग राख्दै क्रान्तिकारीले २० दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ । कार्यकक्षको ढोकामा नै धर्ना दिएपछि उपकुलपति अर्याल कार्यालय आउन छाडेका छन् । धर्नामा नै बसेका विद्यार्थीले रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरेर सिसाहरु फुटाएको ती कर्मचारीले बताए ।
तोडफोड गरी फर्केका विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको प्रत्यक्षदर्शीहरुले बताए । प्रहरी हस्तक्षेपमा त्रिवि जिल्ला इन्जार्च ममता जोशी र सुशील नेपाली घाइते भएको केन्द्रीय अध्यक्ष विजय प्रकाश सापकोटाले बताए । तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गरेपनि सोमबार नै साँझ छाडेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले विज्ञप्ति जारी गरेर समायोजन भएका विभागको शुल्क केन्द्रीय विभागको मापदण्डअनुसार घटाउनु पर्ने माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दै आएको जनाएको छ । सापकोटाले वार्ता र संवादबाट माग पूरा गर्न पहल नगरि प्रहरी परिचालन गरेर दमन गरिएको बताए ।
क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति र विकास अध्ययन, सामाजिकशास्त्र र लैंगिक केन्द्रीय विभागको शुल्क समायोजन गर्नुपर्ने माग अघि सारेको छ । यी विषय आत्मनिर्भर कार्यक्रममा रुपमा सञ्चालन भएपनि गत वर्षको बजेट, कार्यक्रमबाट विभाग बनाइएको थियो । त्रिविले क्रान्तिकारीसँग वार्ता गर्न विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीको संयोजकत्वमा समिति गठन गरेपनि सहमति हुन सकेको छैन ।
क्रान्तिकारी त्रिविका कार्यवहाक अध्यक्ष शिवराज भट्टले प्रहरीले बल प्रयोग गर्दा कार्यालयमा क्षति पुग्न गएको र तोडफोड नगरेको बताए । उपकुलपति कार्यालयमा धर्ना भएपनि रेक्टर र रजिस्ट्रार कार्यालय तोडफोड हुनुलाई त्रिविका प्राध्यापकहरुले शंकास्पद रुपमा हेरेका छन् । शैक्षिक माग देखाएपनि भित्री रुपमा क्रान्तिकारीले पदाधिकारीमा भागबण्डा चाहेको जानकारहरुको भनाई छ । रेक्टर र रजिस्ट्रारमध्ये एक पद माओवादी केन्द्रले पाउनुपर्ने भन्दै स्वार्थ समूहले दबाब दिँदै आएका छन् ।
क्रान्तिकारीलगायत दल निकट संगठनहरुले छिट्टै रिक्त हुन लागेको परीक्षा नियन्त्रक, कानुन संकायको डिन, अनुगमन र अन्तर्राष्ट्रिय निर्देशनालयको आफूहरुले पाउनुपर्ने भन्दै दबाब बढाएका छन् ।
गत असारमा क्रान्तिकारीको त्रिवि समितिले रोक लगाएपछि उपकुलपतिबाहेक रेक्टर, रजिस्ट्रार, सेवा आयोग अध्यक्ष तथा सदस्य कार्यकक्ष जान पाएका थिएनन् । असार २५ गते उपकुलपति अर्याल नियुक्त हुनुअघि नै उनीहरुले तालाबन्दी गरेका थिए । सर्वोच्च अदालतको आदेशमा ताला खुलेपनि विश्वविद्यालय प्रवेशमा रोक लगाइएको थियो । आंशिक प्राध्यापक संघ र क्रान्तिकारीले फास्ट ट्र्याकमा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक भर्ना गर्न लागेको भन्दै तालाबन्दी गरेका थिए । क्रान्तिकारीले सोही माग पूरा गर्न भन्दै ताला खोलेर पदाधिकारीलाई अवरोध गरेको हो । वार्तापछि उक्त अवरोध खोले पनि फेरि अर्को माग अघि सारेर उपकुलपतिलाई अवरोध गरिएको कर्मचारीहरुले बताए ।







Facebook Comments