रुपन्देही । उपनिर्वाचनको तयारीमा रहेका रुपन्देहीको भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशमा तीन दिने प्रशिक्षण कार्यक्रमको तयारी गरेको छ । रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा साउन २९, ३० र ३१ गते गर्ने प्रशिक्षण कार्यक्रम गर्ने भएको जनाइएको छ ।

पार्टीका कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलगायतले पार्टीको सबलीकरण, रुपन्देही क्षेत्र नम्बर तीनको उपनिर्वाचन, सदस्य वृद्धिलगायत विषयमा प्रशिक्षण दिने रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले जानकारी दिए ।

उक्त प्रशिक्षणमा पार्टी प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, प्रदेश विभागका सदस्यलगायतको सहभागिता रहने छ । प्रशिक्षण तयारी अन्तिम चरण पुगेको उनले बताए। २९ गते सबै जिल्लाको सभापतिहरुको बन्द शिविर हुनेछ भने ३० र ३१ गते प्रदेशका सबै जिल्लाका पालिका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यहरुबीच प्रशिक्षण हुने पाठकले जनाएका छन् ।

रुपन्देही ३ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर रास्वपाले यस्ता कार्यक्रम यही केन्द्रित गरेको छ । यसअघि पार्टीको संसदीय दलको बैठक रुपन्देहीमै बसेको थियो ।