काठमाडौँ । धेरैजसो नयाँ आमाबाबु आफ्नो शिशुको टाउको तातो हुँदा चिन्तित हुन्छन् । अस्पतालमा ज्वरो नदेखाउने तर बच्चाको शरीर तातै हुँदा उनीहरू थप अलमलमा पर्छन् ।

शिशुको टाउको तातो हुनु सामान्य हो वा कुनै गम्भीर स्वास्थ्य समस्याको सङ्केत हो ? हामीले परोपकार तथा प्रसूति स्त्री रोग अस्पताल थापाथलीका बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीलाई सोधेका छौँ ।

अधिकांश अवस्थामा शिशुको टाउको तातो हुनु सामान्य मानिन्छ । यसका पछाडि वैज्ञानिक कारणहरू छन् । शारीरिक बनावटका आधारका शिशुको टाउको तातिने गर्छ । वयस्कको तुलनामा शिशुको टाउको शरीरको अनुपातमा ठुलो हुन्छ । नवजात शिशुको शरीरको कुल भागको करिब २५ प्रतिशत टाउकोले ओगटेको हुन्छ, जसले गर्दा शरीरको धेरै तापक्रम टाउकोबाट बाहिरिन्छ ।

उच्च रक्तसञ्चार र मेटाबोलिजम भएमा शिशुहरूको मस्तिष्क तीव्र गतिमा विकास भइरहेको हुन्छ । यो प्रक्रियाका लागि टाउकोमा धेरै रक्तसञ्चार हुन्छ र मस्तिष्कको मेटाबोलिजम दर पनि उच्च हुन्छ, जसले गर्दा बढी ताप उत्पन्न भई टाउको तातो महसुस हुन्छ ।

शिशुहरूको टाउकोमा पसिना निकाल्ने ग्रन्थीहरू बढी सक्रिय हुन्छन् । विशेषगरी सुतेको वेला वा आमाको दूध चुस्दा उनीहरूको टाउकोमा धेरै पसिना आउँछ, जसका कारण टाउको छुँदा तातो हुने गर्छ ।

कस्तो अवस्थामा टाउको तात्दा खतरा हुन्छ ?

–सामान्यतया टाउको तातो हुनु चिन्ताको विषय होइन, तर ज्वरोसँगै हातखुट्टा चिसो भएमा अर्थात् यदि शिशुको टाउको र शरीर तातो छ तर हातखुट्टा चिसो छ भने यो कुनै गम्भीर सङ्क्रमणको लक्षण हुन सक्छ ।

शिशु अत्याधिक असामान्य रूपमा रोइरहेमा, असहज देखिए र धेरै झिँजो मान्छ भने उसलाई केही दुखाइ भइरहेको हुन सक्छ ।

शिशुले दूध खान नमान्ने, खेल्न वा सक्रिय हुन छाड्ने, सुस्त हुने वा बान्ता गर्नेजस्ता लक्षण देखाएमा तुरुन्तै अस्पताल लैजानुपर्छ ।

टाउकोको एक भाग मात्र तातो भएमा त्यहाँ खटिरा, घाउ वा अन्य कुनै सङ्क्रमण भएको हुन सक्छ ।

दाँत आउने वेलामा गिजा सुन्निने र दुख्ने भएकाले पनि शिशुको शरीर र टाउको अलि बढी तातो हुन सक्छ ।

यदि शिशु सक्रिय छ, राम्रोसँग खेलिरहेको छ, दूध खाइरहेको छ र शरीरको तापक्रम नाप्दा सामान्य ज्वरो देखिएको छैन भने टाउको तातो हुँदैमा आत्तिनु पर्दैन । यद्यपि माथि उल्लेखित कुनै पनि लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ । राताेपाटी