काठमाडौँ । गुन्डागर्दीको आरोपमा पक्राउ परेका गोरखाका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाको अनुसन्धान सकिएको छ । साउन १६ गते चक्रे मिलनको जन्मदिन मनाइरहेको अवस्थामा प्रहरीले उनीसहित ४७ जनालाई पक्राउ गरेको थियो ।

महाराजगन्जस्थित होटल साम्बालाबाट पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं प्रहरीले अभद्र मुद्दा कसुरमा अनुसन्धान गरेको थियो । पक्राउ परेकाहरूमध्ये १९ जनाको पृष्ठभूमि आपराधिक गतिविधिमा संलग्न रहेको खुलेपछि प्रहरीले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गरेको थियो ।

सुरुमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र कसुरमा म्याद थप गरेर अनुसन्धान गरेपछि उनीहरूविरुद्ध पटकपटक अभद्र कसुरमा मुद्दा चलेको खुलेपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा अदालतमा दर्ता गर्ने प्रक्रिया सुरु गरेको हो ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले चक्रेसहित १९ जनाकै मुद्दा अदालतमा दर्ता गरेको छ । जन्मदिन मनाउने क्रममा सडक अवरुद्ध गरेको र होटलमा होहल्ला गरेको प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

तर, चक्रे मिलनले आफू नेकपा (एमाले)को जिल्लास्तरीय राजनीतिमा सक्रिय रहेको र शुभचिन्तकले मनाइदिने जन्मदिनमा आफू सहभागीमात्र भएको बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार, उनले बयानमा भनेका छन्, "म हाल एमालेको गोरखा जिल्लास्तरीय राजनीतिमा सक्रिय छु । विभिन्न वडा क्षेत्रमा हुने कार्यक्रममा सहभागी भई सामाजिक सेवामा लागेको छु । जन्मदिन मनाउने क्रममा साथीभाइहरूले ल्याएको केक काटेको हुँ । अन्य कुनै अभद्र काम गरेको छैन ।"

प्रहरीले चक्रे समूहलाई अभद्र कसुरमा एक वर्ष कैद सजायको माग गर्दै प्रतिवेदन बुझाएको छ ।