
काठमाण्डाैँ । राजधानीमा परम्परागत अपराधको तुलनामा बैंकिङ कसुर, सहकारी ठगी, हुण्डी र साइबर अपराधजस्ता आर्थिक र प्रविधिमा आधारित कसुरहरू प्रमुख चुनौतीका रूपमा देखा परेका छन्।
जिल्ला प्रहरी परिसरले, बुधबार आफ्नो वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो।
आयोजित पत्रकार भेटघाट कार्यक्रममा परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले ८१५ जना जनशक्तिको अभावका बावजुद पनि प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा महत्त्वपूर्ण सफलता हासिल गरेको जानकारी दिए।
परिसरले सार्वजनिक गरेको वार्षिक विश्लेषण अनुसार, काठमाडौंमा दैनिक औसत ३५ वटा अपराधका घटना दर्ता हुने गरेका छन्। जसमा सबैभन्दा ठूलो हिस्सा बैंकिङ कसुरले ओगटेको छ।
काठमाडौंको सुरक्षा व्यवस्थापनको प्रमुख चुनौती जनशक्ति अभाव रहेको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गत कुल ४,०१६ जनाको दरबन्दी रहेकोमा हाल ३,२३३ जना मात्र कार्यरत छन्। यस हिसाबले ८१५ जना जनशक्तिको अभाव छ। जुन कुल दरबन्दीको करिब २० प्रतिशत हो। कार्यरत जनशक्तिमध्ये २,८२४ जना पुरुष (८७%) र ४०९ जना महिला (१३%) रहेका छन्।
परिसर अन्तर्गतका १२९ प्रहरी कार्यालयमध्ये केवल १४ वटाको मात्रै आफ्नो भवन र जग्गा दुवै रहेको छ। २० वटा प्रहरी इकाई आफ्नै भवनमा भए पनि जग्गाविहीन छन् भने ८ वटा भाडाको भवनमा सञ्चालित छन्।
सबैभन्दा ठूलो संख्या, अर्थात् ६० वटा प्रहरी इकाईहरू, सरकारी जग्गामा टहरा वा अस्थायी संरचना बनाएर बसिरहेका छन्। यसबाहेक संघसंस्था, स्थानीय निकाय, गुठी र पशुपति विकास कोषको भवनमा समेत प्रहरी कार्यालयहरू सञ्चालित छन्।
गत आर्थिक वर्षमा मात्रै १७८ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। जसमा सबैभन्दा बढी प्रहरी हवल्दार (७६ जना) रहेका छन्। यसैगरी, १८ जनाले अनिवार्य अवकाश पाएका छन्।
प्रहरीले राम्रो काम गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई कारबाही गर्ने नीतिलाई निरन्तरता दिएको छ। गत वर्ष ६८१ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
जसमा सबैभन्दा बढी प्रहरी जवान (२०९ जना) छन्। सोही अवधिमा १५८ जनालाई कारबाही गरिएको छ। जसमा पनि सबैभन्दा बढी प्रहरी जवान (६० जना) र प्रहरी सहायक हवल्दार (४१ जना) परेका छन्।
काठमाडौं प्रहरीले दैनिक रूपमा शान्ति सुरक्षा कायम गर्न व्यापक जनशक्ति परिचालन गर्दै आएको छ। दैनिक ९२४ वटा डिउटीमा २,५२१ जना जनशक्ति खटिने गरेका छन्।
यसमा मोबाइल/सिआरभी गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, प्रहरी चेकिङ र पिकेटजस्ता नियमित परिचालन समावेश छन्।
गत वर्ष काठमाडौंले विभिन्न ठूला राजनीतिक तथा सामाजिक आन्दोलनहरूको सामना गर्नुपर्यो। जसमा प्रहरीले संयमतापूर्वक सुरक्षा व्यवस्थापन गरेको जनाएको छ।
यसबाहेक, प्रहरीले १७ वर्षपछि त्रि-चन्द्र क्याम्पससहित १८ वटा क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको र विभिन्न ६१ वटा निर्वाचन तथा महाधिवेशनमा सुरक्षा प्रदान गरेको जनाएको छ।
काठमाडौं प्रहरीले मनसुनजन्य विपद्को तयारी र प्रतिकार्यका लागि विशेष योजना बनाएर काम गरिरहेको छ। गत वर्ष बाढी, डुबान र पहिरोका ४५ घटनामा २० जनाको मृत्यु र १७ जना घाइते भएका थिए।
आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा कुल १२,९१५ वटा अपराधका मुद्दा दर्ता भएका छन्। यो अघिल्लो वर्षको तुलनामा ०.३३ प्रतिशतले बढी हो। दर्ता भएका मुद्दामध्ये बैंकिङ कसुर सबैभन्दा बढी ६,५५३ वटा रहेका छन्। यो कुल अपराधको ५० प्रतिशतभन्दा बढी हो।
मुख्य १० अपराधहरूमा, बैंकिङ कसुर ६,५५३, अभद्र व्यवहार १,९५३, चोरी ९५१, ठगी ७४५, लागूऔषध ४३१, आत्महत्या ३३२, जबर्जस्ती करणी २४४, ज्यान मार्ने उद्योग १४०, सवारी ज्यान १००, सवारी अंगभंग ७४ रहेका छन्
यी १० मुख्य अपराधले कुल मुद्दाको ८९.२२ प्रतिशत हिस्सा ओगटेको छ। विगत पाँच वर्षको तथ्यांक हेर्दा बैंकिङ कसुर र सहकारी ठगीका घटनामा नाटकीय वृद्धि देखिएको छ।
प्रहरीले पछिल्लो समय देखिएका अपराध प्रवृत्तिहरूमा बैंकिङ कसुर, लघुवित्त तथा सहकारी ठगी, मिटरब्याज, हुण्डी, वैदेशिक रोजगारी ठगी, सुन तस्करी र साइबर अपराध (अनलाइन ठगी, अनलाइन जुवा, हनी ट्रयाप) प्रमुख रहेको जनाएको छ।
लागूऔषधका ४३१ मुद्दा दर्ता हुँदा ७२५ जना पक्राउ परेका छन्। प्रहरीले पहिलो पटक लागूऔषध सेवन गर्ने उमेर समूहबारे गरेको विश्लेषणमा १५-१९ वर्ष उमेर समूहका युवाहरू (४८.९%) सबैभन्दा बढी रहेको पाइएको छ।
प्रहरीले उपत्यकाव्यापी महाअभियान सञ्चालन गरी सचेतना, कारबाही र पुनर्स्थापनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।
यसैगरि, अदालतबाट दोषी ठहर भई फरार रहेका ५,५१२ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ। उनीहरूबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरिएको छ भने २९८ वर्ष २ महिना ९ दिन कैद भुक्तान गराइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले अपराध नियन्त्रण र सेवा प्रवाहलाई सहज बनाउन विभिन्न नवीनतम प्रयासहरू थालेको छ। आर्थिक र साइबर अपराधको बढ्दो चुनौतीलाई सामना गर्न प्रविधिको प्रयोग र समुदायसँगको साझेदारीलाई नै प्रहरीले आफ्नो मुख्य रणनीतिका रूपमा अघि बढाएको देखिन्छ।







Facebook Comments