
काठमाण्डाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गेका छन्।
सरोकार भएका सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा मन्त्रालयमा भएको छलफलमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौती तथा भविष्यमा रासायनिक र जैविक (प्राङ्गारिक) मल उत्पादन सम्भाव्यताबारे छलफल गरेका हुन्।
छलफलमा कृषि सामग्री कम्पनी लिमिटेड, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, साल्ट ट्रेडिङ कम्पनी लिमिटेड, उद्योग विभाग, नेपाल आयल निगमका प्रतिनिधिको उपस्थिति रहेको थियो। त्यस क्रममा हाल रासायनिक मलको मौज्दात, सम्बद्ध निकायहरूको आपूर्ति क्षमता, वितरण प्रणालीमा सुधार गर्न सकिने सम्भावना तथा भविष्यमा मल उत्पादनका सम्भावनाबारे छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।
मन्त्री भण्डारीले मलको समस्या समाधान गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए। छलफलका अन्य सहभागीहरूले हालको आपूर्ति प्रक्रियामा आवश्यक कानुनी तथा नीतिगत सुधार गर्दै वितरण प्रणालीलाई प्रक्रियागत झन्झटबिना वास्तविक किसानसम्म पुग्ने ‘डिजिटल’ प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिएका थिए।
त्रिभुवन विश्वविद्यालयको एक अध्ययनअनुसार माटोको उर्वर क्षमता ४० प्रतिशत घटिसकेको अवस्था देखाएकाले रासायनिक मलको व्यवस्थित प्रयोग अनिवार्य रहेको विषयमा समेत छलफल भएको जनाइएको छ।







Facebook Comments