काठमाडौँ । पछिल्लो समय नेपालमा उच्च रक्तचाप (बल्डप्रेसर) का बिरामी अत्यधिक मात्रामा बढ्न थालेका छन् ।  ‘साइलेन्ट किलर’को रूपमा फैलिएको नसर्ने यो रोग बढ्नु चिन्ताको विषय भएको चिकित्सकहरू सुनाउँछन् ।

अघिल्लो वर्ष साढे चार लाख बढी उच्च रक्तचापका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ११ लाख ४५ हजार ९२६ जना उच्च रक्तचापका बिरामी हुँदा ०८१/८२ मा थपिएर १६ लाख ९ सय २६ पुगेको छ ।

मन्त्रालयका अनुसार ०७९/८० मा ६ लाख ३० हजार २९९, ०८०/८१ मा ११ लाख ४५ हजार ९२६ जनामा उच्च रक्तचाप देखिएको थियो ।

सहिद गंगालाल हृदय केन्द्रका पूर्वनिर्देशक तथा मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारी उच्च रक्तचापलाई समयमै नियन्त्रण नगरे मस्तिष्कघात भएर रक्तनली फुट्ने र बन्द हुने अवस्था आउन सक्ने भएकाले वेलैमा सचेत हुनुपर्ने सुझाउँछन् । नत्र पक्षघात हुन सक्ने उनले चेतावनी दिए ।

मुटु रोग विशेषज्ञ डा. रिजु मानन्धर पनि रक्तचापले मुटुको धमनीलाई कडा बनाउँदै लैजाने र हृदयघातको सम्भावना बढ्ने सुनाउँछन् । त्यस्तै मिर्गौलाको कार्यक्षमतामा ह्रास ल्याई कालान्तरमा मिर्गौला फेलसमेत गराउन सक्ने, आँखाको पर्दामा रहेको रक्तनलीमा असर गरी दृष्टिसमेत गुम्ने उनले बताए ।

नेपालमा हरेक चार वयस्कमध्ये एक जनामा उच्च रक्तचापको समस्या रहेको स्टेप्स सर्वेक्षणले देखाएको छ । अझ सो सर्वेक्षणमा चिन्ताजनक कुरा छ भने उच्च रक्तचाप भएकामध्ये करिब ७८.८ प्रतिशत वयस्कलाई आफूलाई यो रोग लागेको छ भन्नेबारे जानकारी नै छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्  (एनएचआरसी) ले गरेको स्टेप्स सर्भे २०१३ मा २३.४ प्रतिशत वयस्कमा उच्च रक्तचाप देखिएको थियो । सन् २०१९ मा भने बढेर २४.५ प्रतिशत पुगेको थियो । यो तथ्यांकले हरेक पाँच वर्षमा लगभग १.१ प्रतिशतले बिरामी बढेको देखाउँछ । यो निकै डरलाग्दो संकेत भएको चिकित्सकहरू सुनाउँछन् ।

नियन्त्रणको अवस्था झनै भयावह

सर्वेक्षणले उच्च रक्तचापको उपचार र नियन्त्रणको अवस्था झनै कमजोर रहेको देखाएको मुटुरोग विशेषज्ञ डा. अधिकारी सुनाउँछन् । उच्च रक्तचाप भएका कुल बिरामीमध्ये केवल ४.१ प्रतिशतले मात्र नियमित उपचारमार्फत नियन्त्रणमा राख्न सकेको पाइएको छ ।

यस्तै ११.७ प्रतिशतलाई रोगबारे थाहा भए पनि उनीहरूले कुनै उपचार गराएका छैनन् । ४.१ प्रतिशत उपचारमा भए पनि उनीहरूको रक्तचाप नियन्त्रणबाहिर रहेको पाइएको छ ।

यस्तोमा अबका दिनमा उच्च रक्तचापका बिरामी झनै बढ्न सक्ने मुटुरोग विशेषज्ञ अधिकारी बताउँछन् । यसलाई नियन्त्रणमा नराखे मधुमेह, मुटु, मिर्गौला, आँखालगायत समस्या आउने उनी बताउँछन् । जसले शरीरको क्षति त हुने नै छ, आर्थिक भारसमेत बढाउने उनको भनाइ छ ।

किन बढे बिरामी ?

चिकित्सकहरूका अनुसार उच्च रक्तचाप हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल र अन्धोपनको प्रमुख कारक हो । डा. अधिकारीका अनुसार धेरैजसो अवस्थामा यी रोगहरूको कुनै लक्षण देखिँदैन । र खासै धेरै स्वास्थ्य समस्या पनि नदेखिने हुँदा जँचाउने पनि नगरिएको अधिकारीको बुझाइ छ ।

यद्यपि स्वास्थ्य सेवाको पहुँच बढ्दै जाँदा जाँच गर्ने दर भने बढेको मानन्धर सुनाउँछन् ।

नेपालमा अत्यधिक मात्रामा नुन खाने गरिँदा पनि उच्च रक्तचापका बिरामी बढेका विशेषज्ञ डा. अधिकारी जिकिर गर्छन् ।

डा. रिजु मानन्धरले बढ्दो सचेतनाका कारण नियमित स्वास्थ्य परीक्षण गराउँदा रक्तचापका बिरामीहरू बढेका हुन सक्ने बताए । यस्तै मानिसको औसत आयु बढेसँगै लामो समयसम्म बाँच्दा उमेरका कारण हुने रोगहरू देखिँदा पनि यो दर बढेको देखिएको उनको भनाइ छ । 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एक स्वस्थ व्यक्तिलाई दैनिक ५ ग्रामभन्दा कम नुन खान सिफारिस गरेको छ । स्टेप्स सर्भेले भने हरेक नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाइरहेका देखाएको छ ।

यस्तै विशेषज्ञ मानन्धरका अनुसार पहिले १४०/९० एमएमएचजीभन्दा माथिको रक्तचापलाई मात्र उच्च मानिन्थ्यो । अहिले अब १३०/८० भन्दा माथिलाई नै उच्च रक्तचाप मानिन्छ ।

अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन स्ट्रोक एसोसिएसनको नयाँ गाइडलाइनअनुसार   अब १३०/८० एमएमएचजीभन्दा माथिलाई नै उच्च रक्तचाप मानिन्छ ।

डा. रिजु मानन्धरले बढ्दो सचेतनाका कारण नियमित स्वास्थ्य परीक्षण गराउँदा रक्तचापका बिरामीहरू बढेका हुन सक्ने बताए । यस्तै मानिसको औसत आयु बढेसँगै लामो समयसम्म बाँच्दा उमेरका कारण हुने रोगहरू देखिँदा पनि यो दर बढेको देखिएको उनको भनाइ छ ।

चिकित्सकहरू बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान र बढ्दो तनावका कारण उच्च रक्तचापको बिरामी बढेका बताउँछन् ।

आधुनिक जीवनशैलीले आरामदायी र निष्क्रिय बनाउँदा पनि उच्च रक्तचापका बिरामी बढेका डा. अधिकारी तर्क गर्छन् ।

‘पहिलेजस्तो शारीरिक हिँडडुल र व्यायामको कमीले गर्दा शरीरमा आलस्य बढेको छ, जसले रक्तचाप बढाउन सहयोग गरेको छ । अर्ग्यानिक खानेकुराको ठाउँमा बजारमा पाइने जंक फुड र प्रशोधित खानपान बढेकाले अन्य रोगहरू सँगै उच्च रक्तचाप बिरामी बढे ।’

बढ्दो सचेतना पहिलेको तुलनामा मानिसहरू आफ्नो स्वास्थ्यप्रति बढी सचेत भएका छन् । नियमित स्वास्थ्य परीक्षण गराउने चलन बढेकाले लुकेर रहेका रक्तचापका बिरामीहरू पनि पहिचान हुन थालेको उनले बताए ।

मानिसको औसत आयु बढेसँगै लामो समयसम्म बाँच्दा उमेरका कारण हुने रोगहरू देखिने सम्भावना पनि बढेको छ । राताेपाटी