वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाँउपालिका-२ कटेया गाँउका दुई वटा घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ । प्रहरीसहितको अनुगमन टोलीले कटेया गाँउका साह महमद अन्सारी र युनुस अन्सारीको घरमा बुधबार मध्यरातमा छापामा मारेर १९१ बोरा मल बरामद गरेको हो ।

कृषि सामग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट किसानलाई वितरण गर्नका लागि पठाइएको सरकारी अनुदानको मल महङ्गो मूल्यमा बिक्रीका लागि अवैध रुपमा भण्डारण गरेर राखिएको सूचना पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुधबार प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा साल्ट ट्रेडिङ,कृषि सामग्री कम्पनि ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त अनुगमन टोली खटिएको थियो । उक्त अनुगमन टोलीले बुधबार मध्यरातमा कटेयाका साह महमद अन्सारीको घरमा छापामा मार्ने क्रममा उक्त घरमा अवैध रुपमा भण्डारण गरि राखिएको डिएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा मल बामद गरेको प्रजिअ अर्यालले जनकारी दिए ।

त्यसलगत्तै कटेयाकै युनुस अन्सारीको घरमा छापा मार्ने क्रममा उनको घरमा पनि लकुाएर राखिएको अवस्थामा डीएपी २७ बोरा र पोटास २३ बोरा मल बरामद गरिएको उनले बताए । 
दुवै घरबाट बरामद १९१ बोरा मल जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मल बरामद गरिएको दुवै घरका घरधनीहरू भने फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

पर्सामा अहिले धानबालीका लागि मलको चरम अभाव हुँदा किसानहरु समस्यामा छन् । नेपाल सरकारले आयात गरेको मलपनि पर्याप्त छैन ।किसानलाई वितरणका लागि आयात गरिएको अनुदानको मल पनि किसानसम्म पुग्न सकेको छैन । मल वितरणमा अनियमितता र कालोबजारी भइरहेको गुनासो आएपछि प्रजिअ अर्यालले दुई दिन अघि मात्रै जिल्लामा मल वितरक कृषि सहकारी संस्थाका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर मल वितरण प्रक्रियालाई सहज र पारदर्शी बनाउन निर्देशन दिएका थिए ।

त्यससँगै प्रजिअ अर्यालकै निर्देशनमा बुधबारदेखि मल वितरण प्रक्रियाको अनुगमनका लागि अनुगमन टोली खटिएको थियो । त्यसैक्रममा बुधबार राति कटेया गाउँका दुई वटा घरमा छापा मारेर १९१ बोरा मल बरामद गरिएको प्रजिअ अर्यालले बताए ।