काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि समयमै ध्यान दिएर आवश्यक नीति र कानुनहरू निर्माण गर्नुपर्ने बताएका छन्। उनले अहिलेको युग डिजिटल युग भएको भन्दै सबै मिलेर  प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्न आह्वान गरे।

उनले डिजिटल प्लेटफर्महरूले नेपाललाई विश्व समुदायसँग जोड्ने काम गरेको भन्दै त्यहाँ देखिएका समस्याहरूको समाधान र व्यवस्थापनका लागि आवश्यक कानुन र नीतिहरू बनाउनुपर्ने बताए।

बिहीबार पार्टीको सूचना, संचार तथा प्रचार विभागले सानेपामा गरेको 'डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर' विषयक कार्यक्रमको उद्‌घाटन गर्दै सभापति देउवाले भने, 'अब हामी सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ । डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिएको छ, समयको बचत गरेको छ, स्रोतमा पहुँच पुर्‍याएको छ र अझ भनौं विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको छ । यसको सकारात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पुर्‍याएको छ । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक छ।'

उनले डिजिटल प्लेटफर्महरूको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक रहेको बताए।

'सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ । घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा यी सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका छन्,' उनको भनाइ छ।