काठमाण्डाैँ । लालवीर चौधरीलाई निर्वाचन आयोगले अध्यक्षमा वैधता नदिएसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) विग्रहको बाटोतर्फ अग्रसर भएको छ।

निर्वाचन आयोगको मंगलबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरीलाई नाउपा अध्यक्षमा वैधानिकता नदिने निर्णय गरेको थियो। र, गत साउन १४ गते सकिएको नाउपाको राष्ट्रिय भेला नै अवैध भएको ठहर गरेको थियो।

नाउपा संरक्षक रेशम चौधरीको अगुवाइमा भएको त्यही भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। त्यसपछि उनीहरूले विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए।

नाउपा संरक्षक रेशम चौधरीले राष्ट्रिय भेलामार्फत् नाउपाले फरक यात्रा तय गरिसकेकाले निर्वाचन आयोगको निर्णय मान्नुपर्ने बाध्यता नरहेको प्रतिक्रिया दिए।

‘थरूहट, थारूवान आन्दोलनको रूपमा मैले जेलभित्र पार्टी गठन गरे। आफू जेलमा भएकाले रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्ष बनाउनु मेरा लागि बाध्यता थियो,’ रेशमले भने, ‘तर उहाँबाट पार्टी चल्दैन, उहाँले पार्टी चलाउन सक्नुहुन्न भन्ने निष्कर्षमा हामी पुग्यौं। यो मेरो निष्कर्ष होइन। यहाँहरूलाई थाहा छ, पार्टीमा मेरो कुनै पनि भूमिका छैन। साथीहरूको सामूहिक निर्णय हो।’

पार्टीका संस्थापक २१ जनामध्ये १३ जनाले हस्ताक्षर गरेर गरेको निर्णय आयोगले नमान्नु दुर्भाग्यपूर्ण रहेको संरक्षक चौधरीले बताए। आयोगले आफ्नो ढंगले निर्णय गरिसकेकाले त्यसलाई धेरै टिकाटिप्पणी गर्ने पक्षमा पनि आफू नरहेको उनको भनाइ छ।

‘निर्वाचन आयोगले आफ्नो निर्णय गर्‍यो। तर नाउपाका सन्दर्भमा जनताले पनि आफ्नो निर्णय गरिसकेका छन्,’ संरक्षक चौधरीले भने, ‘हामी जनताको निर्णय मान्छौं। हामी राजनीतिक यात्रामा छौं। हामीले फरक बाटो हिँड्ने भनेर उद्घोष पनि गरिसकेका छौं। उहाँको नेतृत्वलाई नस्वीकार्ने भनेर राष्ट्रिय भेलाले नै फरक यात्रा तय गरिसकेकाले अब फर्किन कुरा आउँदैन।’

उनले निर्वाचन आयोगको निर्णयविरूद्ध कानुनी बाटो पनि नसमात्ने बताउँदै जनताको निर्णयलाई मानेर जाने बताए। उनले छिट्टै संस्थापक केन्द्रीय सदस्यहरूको बैठक बसेर यसबारे धारणा सार्वजनिक गर्ने पनि बताए।
‘मैले भनिसकेँ, पार्टीमा मेरो केही भूमिका छैन। म जहिले पनि पार्टीलाई कसरी बलियो बनाउने, आन्दोलनलाई कसरी संगठित तुल्याउने, देशको हित कसरी हुन्छ भनेर सोचिरहने मान्छे हुँ,’ उनले भने, ‘जेलबाट निस्किएदेखि एक दिन पनि राम्ररी सुतेको छैन। पार्टी बनाउने मेची–महाकाली दौडिरहेको छु। हाम्रो निर्णयलाई आयोगले मान्यता दिएन भनेर राजनीतिबाट भाग्ने कुरा आउँदैन। त्यसैले पार्टीका नेताहरूसँग बस्छु। उहाँहरूले जे भन्नुहुन्छ, सोहीअनुरूप अगाडि बढ्छु।’

जेलभित्र बाध्यतावश रञ्जितालाई संस्थापक अध्यक्ष र पिता लालवीरलाई राष्ट्रिय भेलाबाट अध्यक्ष बनाउँदा आफूलाई परिवारवादको पृष्ठपोषण गरेको आरोप लागेको बताउँदै यसलाई चिर्ने गरी अगाडि बढ्न खोजेको बताए। उनले संस्थापक सदस्यमध्येबाटै पुनः अध्यक्ष बनाउन खोजेको संकेत पनि गरे।

त्यसो भए अब पुनः महाधिवेशन वा राष्ट्रिय भेलाको बाटो हिँड्न खोज्नुभएको हो? भन्ने प्रश्नमा उनले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूले जे निर्णय गर्छन् त्यही पार्टीको निष्कर्ष हुने र लागू पनि हुने बताए।

‘रञ्जितासँग पनि केही मानिसहरू छन्, उहाँले पनि पार्टी चलाउँछु नै भनिरहनुभएको छ, उहाँले चलाउनुहोला’ संरक्षक चौधरीले भने, ‘तर हामी फरक बाटो हिँडिसकेका छौं। फेरि फर्किएर पुरानै गतिहीनतामा पुग्ने भन्ने हुँदैन। तर जे निर्णय हुन्छ, संस्थापक केन्द्रीय सदस्यहरूको सामूहिक निर्णयद्वारा नै हुन्छ।’

नाउपाले २०८० पुसको अन्तिम साता पहिलो महाधिवेशन गरेर रेशम चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको थियो।

तर २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भई सजाय काटेकाले चौधरी अध्यक्ष बन्न नसक्ने ठहर गर्दै निर्वाचन आयोगले वैधता दिन र नयाँ कार्यसमितिलाई अद्यावधिक गर्न अस्वीकार गर्‍यो। त्यसपछि नाउपा रञ्जिता श्रेष्ठ नेतृत्वको पुरानै कार्यसमितिमा फर्किएको थियो।

यसविरूद्ध संरक्षक रेशम चौधरी सर्वोच्च अदालत गएका छन्। मुद्दा अझै पनि विचाराधीन छ।

‘अदालतमा विचाराधीन मुद्दाबारे धेरै त बोल्न मिलेन तर हामीले न्याय पाउँछौं भन्ने विश्वास छ। जनताले गरेको निर्णय नमान्ने भन्ने प्रश्न हुँदैन,’ उनले भने।

नाउपाको राष्ट्रिय भेलाले साउन १४ गते रेशमका पिता लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।

गत साउन २७ गते (मंगलबार) बसेको निर्वाचन आयोगको बैठकले दोस्रोपटक पनि नाउपाको अध्यक्ष अद्यावधिक गर्न अस्वीकार गर्‍यो।

यसपटक दुई आधार अघि सार्दै निर्वाचन आयोगले राष्ट्रिय भेलाको निर्णयलाई मान्यता दिएन। सेताेपाटी