काठमाडौँ । २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्ययन गर्न गठित आयोगका संयोजकले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार प्रतिवेदनमाथिको छलफलका क्रममा उनले आयोगका अध्यक्ष पक्षपाती भएको आरोप लगाए । उनले आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गरेको र आफूले खाइरहेको औषधिसमेत रोकेको उनको आरोप छ । कुराकानीमा सोझै सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नेकुरा गरेको उनले बताए ।

प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक रहेको उनको आरोप छ । मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र सबै दोष उसैलाई लगाउन नहुने उनले बताए । दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउन उनले आग्रह गरे ।

उनले क्याप्टेनको कमान्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो ? भन्दै प्रश्न गरे । २०८१ को साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो ।