धरान । भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको समूह धरान उपमहानगरपालिका प्रवेश गरेका छन् । बिहीबार धरान-५ को देउरालीको मानव बस्तीमा प्रवेश गरी एउटा घर भत्काएको छ । धरान देउराली बस्ने लिल बहादुर लिम्बूको टिनको छाना, टिन र बाँसको सेन्टीबेरा भएको भुँइतले घर हात्तीले भत्काइ दिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले बताए ।

हात्तीले लिम्बूको घरको सेन्टीबेरा भत्काइ घरभित्र रहेको भाँडावर्तन,चामल,हिलटेक ड्रममा आक्रमण गरी क्षति पुर्‍याएको उनले बताए । हात्तीले घर भत्काएपछि लिम्बू परिवार विस्थापित भएको छ। लिलबहादुरले आफ्नो परिवारलाई उचित क्षतिपूर्ति दिएर बसोबासको व्यवस्था गरिदिन माग गरेका छन् ।​​​​​​​

हप्तादिन अगाडि भारतबाट नेपाल प्रवेश गरेका  हात्ती सुनसरीको उत्तरी क्षेत्रको जंगलमा प्रवेश गरेकाले सचेत हुन सर्वसाधारणलाई स्थानीय प्रहरी प्रशासनले अनुरोध गरेको छ ।