काठमाण्डाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएर त्याग गरेकामा बधाई दिएका छन्। बिहीबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

‘हाम्रा भित्र छलफल हुँदा खेरी भनेकै हो–अहिले रामहरि जीले छोड्नु नै उपयुक्त हुन्छ। अहिले यो नैतिक प्रश्न उठाइसके पछाडि  त्यो अवसरका रूपमा यसलाई लिनुपर्छ, उहाँले त्याग गर्नुपर्छ,’ महामन्त्री शर्माले भने, ‘उहाँले राम्रो गर्नुभयो, त्याग गर्नुभयो। एउटा राम्रो सन्देश पनि गएको छ। उहाँलाई सम्मान र बधाई पनि दिन चाहन्छु।’

अब खाली भएको ठाउँमा राज्य व्यवस्था समितिमै रहेर काम गरिरहेका सांसदबाट छनोट गर्नुपर्ने उनले बताए। ‘उहाँहरू सुयोग्य साथीहरू नै हुनुहुन्छ। उहाँहरूमध्येबाट कसलाई छान्ने भन्ने कुरा चाडै नै सल्लाह गरेर निर्णय हुन्छ।’ तर त्यसमा विश्वप्रकाशको आकांक्षा छ, दौडमा छ भन्ने जस्ता समाचार आएकामा उनले कुनै सत्यता नरहेको उनले बताए।

‘विश्वप्रकाशलाई राज्य व्यवस्था समितिको सभापति बन्नु थियो भने रामहरिजी पालो पु¥याउने गरी बनिसके पछाडि बन्ने भन्दा पनि पहिल्यै बन्थे हुँला नि। मन्त्री बन्न पहिल्यै लाग्थे हुँला नि,’ महामन्त्री शर्माले भने।

निजामती कर्मचारी विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीको छानबिन गर्न गठित संसदीय छानबिन समितिले तत्कालीन सभापति खतिवडालाई दोषी भने किटान गरेको थिएन। तर, नैतिक जिम्मेवार रहेको औँल्याएको थियो। सोही विषयमा खतिवडाले पदबाट राजीनामा दिने÷नदिने भन्ने विषयका कांग्रेसभित्र विभिन्न मत सिर्जना भएका थिए।

यस्तोमा खतिवडाले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै नैतिकताका आधारमा राजीनामा दिएका थिए।