काठमाडौँ । पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विभागका निर्देशक सीडीई यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यादवविरुद्ध ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा स्रोत नखुलेको सम्पत्तिबाट बढे/बढाइएको जायजेथा पनि जफतको मागदाबी लिइएको छ ।

२०६६ जेठ २४ गते सेवा प्रवेश गरेका यादवको २०७९ साउन २९ सम्मको चलअचल सम्पत्ति अनुसन्धानको दायरामा पारिएको थियो । जाँच अवधिमा २ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँबराबरको सम्पत्ति फेला परेकोमा यो अवधिको कुल खर्च तथा विभिन्न क्षेत्रमा गरेको लगानी ३ करोड ६५ लाख ४ हजार ४ सय ५३ रुपैयाँ भेटिएपछि स्रोत नखुलेको बाँकी रकमलाई अख्तियारले बिगो कायम गरेको हो ।

स्रोत नखुलेको सम्पत्ति यादवकी पत्नी आशाकुमारी यादवको नाममा समेत राखिएको भेटिएपछि उनलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि मुद्दाको प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।