काठमाडाैँ । रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेशी चढेको दिन गृह मन्त्रीको कार्यकक्षमै न्याय परिषद्‌मा पर्ने उजुरी तयार भएको दाबीलाई गृह मन्त्री रमेश लेखकको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्री लेखकका निजी सचिव बद्रीप्रसाद तिवारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

'रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेसी चढेको दिन न्याय परिषद्‌मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी केही मानिसहरूले व्यक्त गरेको र सो विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको समाचारप्रति माननीय गृह मन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,'विज्ञप्तिमा भनिएको छ,'सम्मानित अदालतलाई प्रभावित गरियो भन्ने किसिमका अभिव्यक्ति पूर्णतः भ्रामक, कपोलकल्पित र मनगढन्ते हुनुका साथै माननीय गृह मन्त्रीज्यूलाई तथ्यहीन दोषारोपण गर्ने गलत मनसायले प्रेरित उक्त अभिव्यक्ति र समाचारको सचिवालय खण्डन गर्दछ।'

अदालत र न्याय परिषद् जस्ता सम्मानित निकायहरूको कार्यक्षेत्र र स्वतन्त्रतामा गृहमन्त्री र सचिवालय संवेदनशील रहेको हुँदा न्यायालयको गरिमा तथा सम्मानमा असर पर्ने यस्ता कार्यहरू नभएको जारी विज्ञप्तिमा उल्लेख छ ।  

बिहीबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गृहमन्त्री लेखकले न्यायालय प्रभावित गर्न खोजेको आरोप लगाएको थियो ।