
काठमाण्डाैँ । सहकारी संस्थाको रकम ठगी अभियोगमा पुर्पक्षको लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलभित्रैबाट सचिवालय सञ्चालन गरेको पाइएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई भेट्न चाहने जो कोही जेलर सुरेश भण्डारीलाई सूचना दिएर सजिलै पुग्ने गरेका छन् ।
त्यसअघि जेलभित्रै बस्ने रविका स्वकीय अभिनाष आचार्यसँग अनुमति लिनुपर्ने व्यवस्था मिलाइएको स्रोतको दावी छ । भेट्न चाहनेले सचिवालय सदस्यलाई नाम टिपाएपछि तिनै स्वकीयले भेट्ने वा नभेट्ने निर्णय दिने गरेका छन् ।
यसरी जेलभित्रै स्वकीय राखेका लामिछाने गत चैतमा सहकारी ठगीको अभियोगमा जेल परेपछि कोठामा दुई दिनमै एसी जडान गरेको तथ्य हालै बाहिरिएको थियोे । गोयन्का कम्पनीको एक टन क्षमताको एसी जडित कोठामा बस्दै आएका उनले जेलभित्र कुनै पनि व्यक्तिलाई चाहेको समयमा भेट्दै आएका छन् । उक्त जेलमा रविसहित कैदी र थुनुवा गरी ६३१ जना छन् । अरुलाई कसैले भेट्न चाहेमा तोकिएको समय र दिनमा मात्रै जेलरले अनुमति दिने नियम छ ।
२५० जना कैदी क्षमताको भैरहवा जेलमा ६३१ जना कोचाकोच गरेर बसेका छन् । तर रविलाई पूर्व उपप्रधान तथा गृहमन्त्रीको हिसाबले अलग्गै कोठामा व्यवस्थापन गरिएको जेलर स्वयंले स्वीकारिसकेका छन् । कोठामा राखिएको एसी अहिले हटाइएको छ । रविसँगै सोही मुद्दामा रहेका पूर्व डिआइजी छविलाल बन्जाडेको वरपर भने पंखा मात्रै देखिन्छ ।
जेलभित्र स्वकीय राखेर सचिवालय चलाएका उनै रविले आफूलाई यातनापूर्ण ढंगले राखिएको,घाम हेर्न समेत नदिएको,पत्रपत्रिका पढ्न नदिएको,गर्मीमा पंखा पनि नचल्ने जस्ता कुरा गरेर चर्चा बटुलेका थिए । भेट्न पुगेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनका कुरा जस्ताको तस्तै बाहिर सुनाएपछि सनसनी मच्चिएको हो ।
सोमबार मानव अधिकार आयोगकी आयुक्त डा. लिली थापासँग पनि उनले सोही कुरो दोहोर्याएका थिए । लगत्तै कारागार गेटमा रहेका पत्रकारहरुसँग कुराकानी गर्दै आयुक्त थापाले रविको कोठामा एसी नभएको, कारागार प्रशासनले न्यूनतम सुविधा पनि नदिएको र त्यसबारे रविले आफूलाई गुनासो पोखेको सुनाएकी थिइन् । तर वास्तविकता खुलेपछि रविसँगै भट्टराई र थापाको पनि चर्को आलोचना हुन थालेको छ ।
यसबीच रविकी कान्छी श्रीमती निकिता पौडेलसहितको टिम भैरहवा कारागार पुगेर अस्ति लामो समयसम्म कुराकानी गरेको थियो । जनअास्था







Facebook Comments