काठमाडौं । सरकार र २४ दिनयता काठमाडौंमा आन्दोलनरत शिक्षकहरूबी शुक्रबार नै वार्ता हुने भएको छ । वार्ताका लागि शिक्षकहरूको २५ जनाको टोली सिंहदरबार छिरेको छ । टोलीमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका छन् ।

सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्ने भएका छन् । आन्दोलनको २४ दिनपछि विभागीयमन्त्री र शिक्षकहरूबीच औपचारिक वार्ता हुन लागेको हो । सोमबार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि बुधबार मात्रै पन्तले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका हुन् । उनले बिहीबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि शिक्षक आन्दोलनलाई आफूले हेरेको र समस्या पनि बुझेको बताएका थिए ।

उनले शिक्षकहरूसँग वार्ताको पहल गर्ने बताएका थिए । नभन्दै शुक्रबार उनले आफैं विज्ञप्ति निकालेर आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए । शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनबीच शुक्रबार दुई पक्षबीच वार्ता हुने भएको छ । उक्त वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले गर्ने भएका छन् ।