मकवानपुर । मकवानपुरमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजले एमबीबीएसमा विद्यार्थी भर्नाका लागि पहिलोपटक सरकारी सिट पाउने भएका छन्।

बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल मेडिकल कलेजलाई एमबीबीएसका लागि ५०/५० सिट दिने निर्णय गरेको हो। दुवैले अब ५०/५० जना विद्यार्थीलाई सरकारी अनुदानमा एमबीबीएस पढाउने छन्।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बीएस्सी नर्सिङको सिट संख्या पनि थप गर्ने निर्णय गरेको छ। प्रतिष्ठानमा हाल नर्सिङका लागि २० वटा सिट छन्। अब यसको संख्या ३० पुगेको छ। पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजको शिक्षण अस्पतालमा रूपमा कोसी अस्पताललाई प्रयोग गर्ने विषयमा दुई वर्षअघि नै सम्झौता भएको थियो।

आयोगको बिहीबार बसेको बैठकले निजी मेडिकल कलेजहरूमा एमबीबीएसलगायत विषयमा १ हजार ३५९ सिट थप गरेको छ। जसमा एमबीबीएसमा मात्र ४९५ सिट र नर्सिङमा ५६२ सिट थप गर्ने निर्णय भएको छ। सरकारी ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने सिट थप भएको छैन्।