
धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएर अस्पतालमा उपचारपछि डिस्जार्च गरिएका कैदीबन्दीलाई कारागार प्रशासनले फर्काउन सकेको छैन । सेती प्रादेशिक अस्पतालले अहिलेसम्म ३६ जनालाई डिस्चार्ज गरिसकेको छ । उनीहरूमध्ये तीन जनालाई बुधबार कञ्चनपुर कारागार सरुवा गरिएको छ । अरू सबै प्रादेशिक अस्पतालमै छन् ।
कारागारमा गत शुक्रबार भएको घटनामा ४८ कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते तीन जनालाई काठमाडौं रेफर गरिएको थियो भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार गराइएको थियो । ‘अहिले यहाँ ९ जनाको मात्र उपचार भइरहेको छ । अरूलाई डिस्चार्ज दिइसकेका छौं,’ अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले भने, ‘तर उहाँहरूलाई कारागार प्रशासनले अस्पतालमै राखेको छ ।’
कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले कारागारमा असुरक्षा हुन सक्ने आकलन गर्दै उनीहरूलाई अस्पतालमै राख्नुपरेको बताए । ‘कैदीबन्दी राखिएको प्रादेशिक अस्पतालको घरलाई कारागारजस्तो गरी सुरक्षा व्यवस्था मिलाएका छौं,’ उनले भने । कैदीबन्दी राखिएको प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालको भवनबाहिर सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको छ ।
कारागारभित्र बन्दीगृहको अवस्था भने सामान्य रहेको कारागार प्रशासनले जनाएको छ । कारागारका एक कर्मचारीका अनुसार साताअघिको घटनामा घाइते भएकालाई अहिलेकै अवस्थामा पुनः कैलाली कारागार फर्काउँदा फेरि आक्रमण हुन सक्ने जोखिम रहेको सुरक्षा निकाय र कारागार प्रशासनको विश्लेषण छ । ‘उनीहरूलाई पुनः फर्काइयो भने जे पनि हुन सक्छ,’ ती कर्मचारीले भने, ‘त्रास कायमै छ । हामीले पनि ढुक्कसँग केही भन्न सक्ने अवस्था छैन ।’
कारागार प्रमुख जालन्धर भुसाल नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि के गर्ने भन्ने टुंगो लाग्ने बताउँछन् । ‘कैदीबन्दीको संख्या ठूलो छ । कैदीबन्दीलाई कारागारमा फर्काइहाल्नु जोखिम हुन्छ । इच्छाविपरीत अन्यत्र स्थानान्तरण गरिहाल्न पनि भएन,’ उनले भने, ‘उनीहरू केही समय अस्पतालमै बस्छन् ।’
घाइते भएका कैदीबन्दीलाई अन्यत्र सरुवाको विकल्प प्राथमिकतामा रहेको कारागारका अर्का कर्मचारीले बताए । उनका अनुसार कैदीबन्दीका आफन्तलाई स्थानान्तरणका लागि निवेदन दिन भनिएको छ । कारागारको घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई गृह मन्त्रालय तानिएको छ । उनको ठाउँमा दाङबाट कृष्णप्रसाद लम्साललाई खटाइए पनि बिहीबारसम्म पुगेका छैनन् ।
कैलाली कारागारमा गत शुक्रबार ब्लक ‘ए’ का कैदीबन्दीले ब्लक ‘बी’ मा छिरेर आक्रमण गर्दै एक जनाको मृत्यु भएको थियो । घटनाका बखत ३ सय ६८ कैदी र ३ सय ३२ थुनुवा गरी ७ सय जना थिए । कारागार प्रशासनका अनुसार सबैभन्दा धेरै लागूऔषध मुद्दाका १ सय २६ कैदी र १ सय ६८ थुनुवा थिए । जबर्जस्ती करणीका ९४ कैदी र ६६ थुनुवा, कर्तव्य ज्यान मुद्दाका ८५ कैदी र २१ थुनुवा थिए ।
चोरी मुद्दाका ३०, ज्यान मार्ने उद्योगका २६, सवारी ज्यानका २३, विधि मुद्दाका १२, मानव बेचबिखनका १०, केही सार्वजनिक अपराधका ९, डकैतीका ७, हातहतियार खरखजानाका ५, ठगीका ५, मानव बेचबिखन तथा शरीर बन्धकका ४, बहुविवाहका ४, जीउ मास्ने बेच्ने २, बहुविवाह २, मुद्रासम्बन्धी मुद्दाका १ जना थिए । आक्रमणमा परी ज्यान गुमाएका भरत चौधरी लागूऔषध मुद्दाका हुन् । कान्तिपुर







Facebook Comments