काठमाडौँ । प्रहरीले सानुभाइ भनिने युवराज गुरुङमाथिको अनुसन्धान सकेको छ । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले नुवाकोट ककनी–५ का युवराजसहित नुवाकोटकै राजेन्द्र गुरुङ, पाँचथरका दिलकुमार तुम्वापो र नुवाकोटकै रवीन्द्र गुरुङलाई पक्राउ गरेको थियो ।

राजेन्द्र र युवराजबीच झगडा परेपछि उनीहरूलाई प्रहरीको टोलीले ठमेलस्थित नरकोट दोहोरी साँझबाट साउन १४ गते राति पक्राउ गरेको थियो । पक्राउ परेका सबैजना विरुद्ध प्रहरीले अभद्र कसुरमा अनुसन्धान गरेको थियो ।

दुई हप्ता लामो अनुसन्धानपछि प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो । बिहीबार वकिल कार्यालयले युवराजसहित चारजनालाई अभद्र कसुरमा एक वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गराएको छ ।

ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका युवराज पटक–पटक पक्राउ पर्दै, छुट्टै आएका छन् । २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेर चर्चामा रहेका युवराज अझै आपराधिक गतिविधिमा सक्रिय छन् ।

पक्राउ परेका राजेन्द्र गुरुङले पनि सधैँ आफूविरुद्ध अभद्र व्यवहार गर्दै आएका युवराजले दोहोरी साँझमा समेत अपशब्द गालिगलौज गर्दा झगडा भएको बयान दिएका छन् ।