जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ शक्ति भनेर दाबी गर्नेहरू आम जनतामा भ्रम सिर्जना गरिरहेको बताएका छन् । शुक्रबार जनकपुरधाममा मधेश प्रदेश प्रहरीको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ शक्ति भनेर दाबी गर्नेहरूको देशमा केही योगदान नरहेको हुनाले व्यवस्था मास्नेतर्फ लागेको बताएका हुन् ।

‘नयाँ भर्खर खुलेका पार्टी, अराजकता फैलाउने केही तत्व जसको देशमा केही योगदान छैन । उसले देशलाई माया गर्न सक्दैनन्,’प्रधानमन्त्री ओलीले भने,‘यो व्यवस्था हामीले संघर्ष गरेर ल्याएका छौं । हाम्रा साथीहरूले बलिदानी दिनु भएको छ, सहादत प्राप्त गर्नु भएको छ । त्यसकारण यो देशको माया हामीलाई छ ।’

नयाँ पार्टीतर्फ संकेत गर्दै उनीहरूलाई यो व्यवस्था अत्यन्तै अप्रिय लागेको प्रधानमन्त्री ओलीले बताए । यो व्यवस्था रहिरहने तर केही सुदृढ गरिने उनको भनाइ थियो । सरकार पनि परिवर्तन नहुने उल्लेख गर्दै उनले देशको विकासमा दुई ठूला पार्टी इमान्दारसाथ लागेको बताए ।