सर्लाही । सर्लाहीको हरिपुर्वामा शुक्रबार साँझ गोली चलेको छ । गोली प्रहारबाट एक पुरुष गम्भीर घाइते भएका छन्  ।

भारतसँग सीमा जोडिएको हरिपुर्वा नगरपालिका–६ निवासी अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि गोली प्रहार भएको हो । यादवको टाउकोमा गोली लागेको प्रहरी जनाएको छ ।

घाइते यादवको हरिपुर्वामा उपचार सम्भव नभएपछि महोत्तरीको पर्सास्थित एक निजी अस्पतालमा लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । प्रहरीका अनुसार यादव घर अगाडि बसिरहेका बेला पछाडिबाट आएर अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । आक्रमणकारी फरार रहेका छन् ।

गोली प्रहारमा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।