काठमाण्डाैँ । अविरल वर्षाका कारण आएको बाढीले सिन्धुलीको दुधौली नगरपालिका–१, गिचिहानी गाउँमा ठूलो क्षति पुर्‍याएको छ ।

शनिबार दिउँसो ३:३० बजेतिर आएको मुसलधारे वर्षापछि पछि दुधौली नगरपालिका–१ मा रहेको विचित्र खोलामा आएको बाढी अचानक बस्तीमा पसेको थियो ।

बस्तीमा बाढी पसेपछि एक महिला घाइते भएकी छिन् । १० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय दुधौलीका प्रमुख सिमोन धितालको कमान्डमा १० जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।

बाढी घरभित्र पस्दा स्थानीय भद्र कुमारी दनुवार घाइते भएकी छिन् । घरभित्र फसेकी दनुवारलाई प्रहरी टोलीले सकुशल उद्धार गरेको थियो । घाइते दनुवारको अवस्था मध्यम रहेको र उनको दुधौली नगर अस्पताल सिर्थौलीमा थप उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बाढीका कारण दुधौली नगरपालिका–१, गिचिहानी गाउँका घरमा बाढी पसेर क्षती पुर्‍याको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय प्रशासनले बाढी पीडितहरूलाई राहत र आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुवेदीका अनुसार बाढीपिडितहरुलाई अस्थायी रुपमा तत्काल बास बस्ने व्यवस्थापन भएको जानकारी दिए ।

खोलामा पानीको बहाव बढेर पुन: डुवान हुने भएकोले उनीहरुको घरभन्दा अलि पर बासको व्यवस्थापन गरेको उनको भनाई छ । अझै पानी परिरहेकोले सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।