
विराटनगर । विराटनगरमा आज भव्य रथयात्रा निकालिँदै छ । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिन्छ ।
रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ को राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठुलो मानिन्छ ।
रथ यात्रामा नेपाल र भारतका झन्डै ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ । रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गरेर मन्दिरमै आई समापन हुनेछ । रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिर पुग्नेछ ।
ऐतिहासिक मानिने राधाकृष्ण रथयात्रालाई पूर्ण रूपमा सुरक्षित र शान्तिपूर्ण बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ । प्रहरीले ड्रोन र सिसिटिभीदेखि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर कडा सुरक्षा दिने जनाएको छ ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मीलाई खटाइएको छ । मोरङ प्रहरीले कुनै पनि गलत हर्कत गर्ने तत्वविरुद्ध ‘शून्य सहनशीलता’ अपनाउँदै निर्मम रूपमा प्रस्तुत हुने कठोर चेतावनी दिएको छ ।
मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद चिमरियाले रथयात्राको सुरक्षा व्यवस्थामा कुनै पनि कसर बाँकी नराखिएको र सुरक्षा योजनालाई सूक्ष्म तहसम्म पुगेर कार्यान्वयन गरिएको बताए । ‘यो केवल धार्मिक यात्रा मात्र होइन, लाखौं मानिसको आस्था र विराटनगरको पहिचानसँग जोडिएको विषय हो । यसको गरिमा र शान्तिलाई भंग गर्ने कुनै पनि प्रयासलाई हामी सफल हुन दिनेछैनौं,’ एसपी चिमरियाले दृढतापूर्वक हाम्रोसँग भने, ‘हाम्रो सम्पूर्ण ध्यान भक्तजनले निर्धक्क र भक्तिभावपूर्ण वातावरणमा रथयात्रामा सहभागी हुन सकुन् भन्नेमा केन्द्रित छ । तर, यो शान्तिपूर्ण वातावरणलाई खलल पुर्याउने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिनेछ ।’
ड्रोनका साथै विराटनगरका मुख्य चोक र रथयात्रा मार्गमा जडान गरिएका दर्जनौँ सीसीटीभी क्यामेराहरूलाई पनि २४ सै घण्टा सक्रिय बनाइएको छ । ड्रोन र सीसीटीभीको यो एकीकृत प्रणालीले सुरक्षा निकायलाई भीडभित्र लुकेर अपराध गर्ने तत्त्वहरूलाई पहिचान गर्न र प्रमाण सङ्कलन गर्नसमेत सहज बनाउनेछ ।
प्रहरीले ठुलो सङ्ख्यामा सादा पोसाकका सुरक्षाकर्मीलाई भीडभित्र परिचालन गर्ने रणनीति बनाएको छ । यी विशेष तालिमप्राप्त प्रहरीहरू भक्तजनकै रूपमा भीडमा घुलमिल हुनेछन् र पाकेटमार, चोर, महिला तथा बालबालिकालाई दुर्व्यवहार गर्ने, वा अन्य कुनै पनि उश्रृङ्खल गतिविधि गर्ने व्यक्तिहरूमाथि कडा निगरानी राख्नेछन् ।
‘विगतका वर्षहरूमा भारत र मधेश प्रदेशका सीमावर्ती क्षेत्रबाट आपराधिक गिरोहहरू यस्ता ठुला मेलापर्वमा प्रवेश गरी चोरी र लुटपाट गर्ने गरेको देखिन्छ । यसलाई रोक्न हामीले शनिबारदेखि नै विराटनगर प्रवेश गर्ने जोगबनीसहितका सबै सीमा नाका र सहायक मार्गहरूमा निगरानी र जाँच अत्यन्त कडा पारेका छौं,’ एसपी चिमरियाले भने ।
कुनै पनि व्यक्ति शंकास्पद गतिविधिमा संलग्न भएको वा गलत हर्कत गरेको पाइएमा सादा पोसाकको टोलीले तत्कालै पक्राउ गर्नेछ । पक्राउ परेका व्यक्तिहरूलाई भीडबाट सुरक्षित रूपमा बाहिर निकाल्न र जिल्ला प्रहरी कार्यालयसम्म ल्याउन रथयात्राको रुटमा अगाडि र पछाडि विभिन्न स्थानमा ‘वान टन’ गाडीहरूलाई’ मोबाइल डिटेन्सन भेइकल’ का रूपमा तयारी अवस्थामा राखिएको छ । ‘अपराध गर्नेलाई घटनास्थलबाटै नियन्त्रणमा लिएर तत्काल गाडीमा हालेर जिल्ला ल्याइनेछ । उनीहरूमाथि कसुरको प्रकृति हेरी सोमबार अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइनेछ,’ एसपी चिमरियाले चेतावनीको शैलीमा भने ।
कडा सुरक्षा व्यवस्थाका साथै मोरङ प्रहरीले आफ्नो मानवीय पक्षलाई पनि ध्यान राखेको छ । लाखौँको भीडमा गर्मी र अन्य कारणले भक्तजनलाई स्वास्थ्य समस्या पर्न सक्ने कुरालाई ध्यानमा राख्दै प्रदेश प्रहरी अस्पताल र विराटनगरका प्रतिष्ठित निजी अस्पतालहरूसँगको सहकार्यमा रथयात्रा मार्गका विभिन्न स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको टोलीले कुनै पनि आकस्मिक स्वास्थ्य समस्याको तत्काल प्राथमिक उपचार गर्नेछ ।







Facebook Comments