
काठमाण्डाैँ । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले क्रान्तिको अगुवाइ र नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरूरी नभएको बताएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भनिराख्ने 'अझै एक पटक क्रान्तिको नेतृत्व गर्न मन छ' कुराप्रति लक्ष्य गर्दै उनले कोही पनि पदाधिकारी क्रान्तिको अगुवाइ र नेतृत्व गर्न पदमा बसिराख्न जरूरी नभएको टिप्पणी गरेका हुन्।
‘एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ। हामीले अर्को भूमिका निर्वाह गर्नुपर्छ। हामी कार्यकारी भूमिकामा रहनु हुँदैन। ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाइ गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरूरी छैन,’ अध्यक्ष प्रचण्डलाई लक्ष्य गर्दै सचिव कार्कीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने।
उनले माओवादीको पदाधिकारी अब युवा पुस्तालाई छाड्नुपर्ने बताए।
‘पदाधिकारी चाहिँ हामी युवालाई, नयाँ उत्साह भएकाहरूलाई ल्याउन सक्छौं। हामीले वैचारिक, राजनितिक रूपमा अगुवाइ गर्न सक्छौं, नेतृत्व दिनुसक्छौं। त्यसको निम्ति अब संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक छ,’ उनले भने।
उनले पार्टी र सत्ता कुनै पनि कुराको आयु हुने उल्लेख गर्दै व्यक्तिमा जस्तै पार्टीमा पनि कमजोरी हुन सक्ने बताए।
‘पार्टीको, सत्ताको कुनै पनि कुराको आयु हुन्छ। व्यक्तिमा जस्तै पार्टीमा, सत्तामा पनि कमजोरी हुन्छ तर त्यहाँ त्यसलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्छ। माओत्सेतुङको भाषामा भन्ने हो भने चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो त्यो बेलाको एउटा सार के हो भने पार्टीलाई पनि आवधिक रूपमा र आंशिक रूपमा विघटन गर्न सक्नुपर्छ। विघटन गर्न सकिएन भने पुनःगठन हुँदैन, यो जीवनको नियम हो,’ उनले भने।
पार्टीको कार्यदिशा, रणनिति, नेतृत्व सवै क्रान्तिकारीकरण हुनुपर्ने उनले बताए।
प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्दै उनले हाम्रो जीवन लुकेको छ भने जनताले शंका गर्ने पनि बताए।
उनले वामपन्थीहरू धेरै वर्षदेखि सत्तामा रहेको उल्लेख गर्दै मजदुर किसानका पक्षमा के-के विधेयक ल्याइयो समीक्षा हुनुपर्नेमा जोड दिए।
‘हामीले सरकारमा गएपछि मजदुर किसानको पक्षमा के-के विधेयक ल्यायौं ? कतिवटा विधेयक चाहिँ पारित गर्यौं? नेपालमा वामपन्थीहरू धेरै वर्षदेखि सत्तामा छन्। नेपाली कांग्रेस पनि आफूलाई समाजवादी भन्छ तर नेपालमा शिक्षालाई फेर्ने विधेयक आयो? नेपालको शिक्षा प्रणाली परिवर्तन भयो? नेपालको स्वास्थ्य प्रणाली फेरियो? फेरिएको छैन,’ उनले भने।
साथै उनले सबैभन्दा नवीनतम राजनिति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको जिकिर गरे।
अब समाजको नेतृत्व सामन्त वा पुँजीपतिले गर्न नसक्ने उनको भनाइ थियो।
नयाँ भनेर क्रिम पाउडर लगाएर आएकाहरूको पनि राजनितिमा खासै अर्थ नभएको उनले बताए। सेताेपाटी







Facebook Comments