ताप्लेजुङ । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको बताएका छन्।  

प्रेस चौतारी ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताए। भट्टराईले देशको आवश्यताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनसहितको सरकार बनेकाले आगामी निर्वाचनसम्म यही सरकार रहने दोहोर्‍याए।

‘देशमा विषम परिस्थिति सृजना भएकोले गत वर्ष एमालेको नेतृत्वमा सरकार गठन भएको हो,’ भट्टराईले भने, ‘सरकारले देशको आर्थिक स्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ। कतिपय कानुन संशोधन गरेको छ। विकासका कामलाई तीव्रता दिएको छ।’

भट्टराईले संविधान संशोधनको समयमा स्थानीय तहको संख्या घटाएर र वडाको संख्या बढाउनु पर्ने बताए। संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने उनको भनाइ छ।  

वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको बताए। ‘हाम्रो नेतृत्वमा सरकार बनेपछि  मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ। सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आहँवन गरेको छ,’ भट्टराईले भने, ‘थुप्रै आर्थिक ऐन संशोधन भएका छन्। केही नयाँ बनाइएको छ। विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ।’

उनले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठुला परियोजनालाई कतैबाट पनि अवरोध गर्न नहुने बताएका छन्।