काठमाडाैँ । विवादास्पद युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादवको  हरियाणास्थित गुरुग्राम सेक्टर ५६ स्थित घरबाहिर आज बिहान अन्धाधुन्ध गोली प्रहार भएको छ । बिहान ५ः३० देखि ६ बजेको बीचमा तीन अज्ञात व्यक्तिहरू मोटरसाइकलमा आएर उनको घरमा आक्रमण गरेका हुन् ।

आक्रमणको समयमा एल्विश यादव घरमा थिएनन् । प्रहरीका अनुसार उनी कामको सिलसिलामा हरियाणाबाहिर गएका थिए । घरमा केयरटेकर र केही परिवारका सदस्यहरू थिए, तर आक्रमणमा कोही घाइते भएनन् ।

एल्विशले हालसम्म कुनै उजुरी दर्ता गराएका छैनन् । बन्दुकधारीले घरको तल्लो र पहिलो तलालाई निशाना बनाएका थिए । एल्विश दोस्रो र तेस्रो तलामा बस्छन् । आक्रमणकारीमध्ये दुई जनाले कम्तीमा एक दर्जन गोली प्रहार गरेर भागे ।

हिमांशु भाउ ग्याङले सामाजिक सञ्जालमार्फत उक्त आक्रमणको जिम्मेवारी लिएको छ । उक्त ग्याङले एल्विशलाई जुवा प्रवर्द्धन गरेको आरोप लगाएको छ । उनका पिता राम अवतार यादवले भने आफ्नो छोराले जुवा प्रवर्द्धन गरेकोबारे थाहा नभएको र कुनै पूर्व चेतावनी पनि नआएको बताए ।

‘प्रहरी यहाँ आएको छ, आक्रमण हुँदा म सुतिरहेको थिएँ,’ करिब २५–३० राउन्ड गोली चलेको थियो । एल्विशलाई कुनै धम्की आएको थिएन । सिसिटिभीमा तीन जना मोटरसाइकलमा देखिए, जसमध्ये दुई जना गेटमा थिए,’ राम अवतारले पत्रकारहरूसँग भने ।

प्रहरीले यादवको घरमा पुगेर प्रमाण सङ्कलन गरेको छ र आसपासको क्षेत्रको सिसिटिभी फुटेज पनि जाँच गरिरहेको छ । प्रहरीले कानुनी कारबाही सुरु भएको र परिवारले उजुरी दर्ता गरेपछि थप कदम चालिने बताएको छ ।

यसैबीच, हिमांशु भाउ ग्याङका राव इन्द्रजीत यादवले गोलाबारीको जिम्मेवारी लिँदै ग्याङस्टरहरू नीरज फरिदपुर र भाउ रिटोलियाले आक्रमण गरेको जानकारी दिएका छन् । जुवा प्रवर्द्धन गर्नेहरूलाई फोन वा गोलीको तयारी गर्न चेतावनी दिँदै ग्याङले दुईवटा पेस्तोलको तस्बिरसहित पोस्टसमेत गरेको छ । यद्यपि उक्त पोस्टको सत्यता पुष्टि गर्न भएको छैन ।

यसअघि गत महिना हरियाणवी गायक तथा र्‍यापर राहुल यादव उर्फ फजिलपुरियाको गाडीमा गोली प्रहार भएको थियो । उक्त घटनामा फजिलपुरिया सकुशल बचेका थिए । केही दिनअघि उनको नजिकको सहयोगी रोहित शौकीनको गुरुग्राममा दिनदहाडै हत्या भएको थियो ।

उक्त हत्याको जिम्मेवारी पनि हिमांशु भाउ ग्याङका ग्याङस्टर सुनील सरधानियाले लिएका थिए । एल्विश यादव प्रभावशाली तर विवादास्पद व्यक्ति हुन् । गत वर्ष उनलाई सर्पको विषलाई ड्रगको रूपमा प्रयोग गरेको रेव पार्टी आयोजना गरेको आरोपमा पक्राउ गरिएको थियो । पछि उनलाई मनी लान्ड्रिङ निवारण ऐन (पीएमएलए) अन्तर्गत पनि सोधपुछ गरिएको थियो ।