काठमाडौँ । चाडपर्वको मुखमा मन्सुनजन्य विपदले सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । नेपालको उत्तरी नाका चिनसँग जोड्ने रसुवागढी र तातोपानी नाकामा सवारी सञ्चालन ठप्प छ ।

जसका कारण चाडपर्वलक्षित आपूर्तिमा प्रभाव परेको छ भने चाडपर्वको मुखैमा आपूर्ति ठप्प हुँदा महँगी बढ्ने भन्दै तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सांसदहरूले जोड दिएका छन् ।

गत असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवागढी/टिमुरे नाका तहसनहस पारेको छ । नेपाल–चीन जोड्ने मितेरीपुल बगाउनका साथै सडक क्षति गरेको थियो । बाढीले क्षति गरेको सडक मर्मत सकिएपछि फेरि साउन १४ गते आएको बाढीले क्षति गरेको छ ।

यस्तै तातोपानी नाका जोड्ने अरनिको राजमार्गअन्तर्गत कोदारी (इको)मा साउन १८ गते गएको पहिरोले यो सडक पूर्ण रूपमा अवरुद्ध छ । यो सडक खुलाउन दुई साता लाग्ने सडक विभागले जनाएको छ ।

आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा यी सडकबारे छलफल थियो । छलफलमा सांसदहरूले चाडपर्वमा सडक यातायात  सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले के कस्ता पहल गरिरहेको छ सो सम्बन्धमा प्रश्न उठाएका छन् ।

सांसद प्रकाश ज्वालाले वर्षाले अवरुद्ध भएका राजमार्गहरू, विशेषगरी उत्तरी नाका जोड्ने सडकहरू, तत्काल सुचारु गर्न नसके चाडपर्वमा महँगी र कालोबजारीले जनता मारमा पर्ने बताए । सांसद ज्वालाले कोदारी र रसुवागढी जोड्ने सडकहरू राजधानीसँग मात्र नभई देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले तत्काल खुलाउनुपर्ने बताए ।

उनले राजधानी नजिकका सडकमा मात्र सरकारको ध्यान केन्द्रित भएको तर पश्चिमका सडकहरू उपेक्षामा परेको तर्क गरे । ‘राजधानी जोड्ने सडक दार्चुला र बाजुराबाट पनि सुरु हुन्छ, तर सरकारको ध्यान दाउन्नेभन्दा पश्चिम गएको देखिएन,’ उनले भने ।

बीपी राजमार्गको खुर्कोटस्थित पुल मर्मतमा ध्यान नपुगेको भन्दै उनले देशभरका मुख्य राजमार्गहरूको अवस्थाप्रति गम्भीर हुन आग्रह गरे ।

सांसद माधव सापकोटाले अरनिको राजमार्गस्थित कोदारीको पहिरो (इको पहिरो) को तत्काल व्यवस्थापन गर्न नसके चाडपर्वको मुखमाम बजारमा अचाक्ली महँगी बढ्ने बताए । साथै यसको दीर्घकालीन समाधानका लागि पहल गर्न भौतिकमन्त्रीसमक्ष आग्रह गरे ।

सांसद सापकोटाले २०७२ सालको भूकम्पपछि धाँजा फाटेर निरन्तर समस्या बनेको उक्त पहिरो वर्षायाममा राष्ट्रिय मुद्दा बन्ने र हिउँदमा सबैले बिर्सने प्रवृत्तिका कारण स्थानीय जनताले १० वर्षदेखि सास्ती भोगिरहेको बताए । साथै पहिरोका कारण उक्त क्षेत्रका ७५ घर उच्च जोखिममा रहेको, १२ वटा घर पूर्ण रूपमा बस्न नमिल्ने गरी क्षति भएको र अर्बौंको लगानीमा बनेका गुम्बा, विद्यालय तथा प्रहरी चौकी जस्ता सार्वजनिक संरचनासमेत खतरामा रहेको भन्दै ध्यानाकर्षाण गराए । भूगर्भविद्हरूले उक्त क्षेत्रलाई मानवीय बसोबासका लागि अयोग्य भन्दै ’रातो’ लगाएको साथै मानवीय र भौतिक क्षतिको ठुलो जोखिम रहेको भएपनि त्यहाँ वस्ती व्यवस्थापन हुन नसकेको बताए ।

सांसद सापकोटाले यो पहिरो स्थानीय समस्या मात्र नभई राष्ट्रिय अर्थतन्त्र र आम उपभोक्ताको भान्सासँग समेत जोडिएको बताए ।
सडक विभागले दसैँअघि देशभरका मुख्य राजमार्गहरूमा रहेका खाल्डाखुल्डी मर्मत गरिसक्ने जनाएको । तर, वर्षाका कारण क्षति पुगेका चीनसँग जोड्ने कोदारी र रसुवागढी नाकाका सडकहरू खुल्न भने अझै समय लाग्ने भएको छ ।

संसदको पूर्वाधार विकास समितिमा सांसदहरूलाई सडकको अवस्थाबारे जानकारी दिँदै विभागका महानिर्देशक विजय जैसीले चाडपर्वमा नागरिकको सहज यात्राका लागि मुख्य राजमार्गहरूको पटके मर्मतको काम अघि बढाइएको जानकारी दिए ।

‘दसैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी हामीले देशभरका राजमार्गमा खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएका छौं,' महानिर्देशक जैसीले भने, ‘ठेक्का प्रक्रिया सुरु भइसकेको छ, यदि केही ढिलाइ भएमा विभाग आफैंले काम गरेर पनि सडक सहज बनाउनेछ ।’

विभागले वर्षाको समयमा सडक अवरुद्ध भए ३० देखि ६० मिनेटभित्र उपकरण परिचालन गर्ने र ४ घण्टाभित्र एकतर्फी भए पनि सडक खुलाउने नीति लिएको उनले बताए । वर्षाका कारण सबैभन्दा बढी क्षति चीनसँग जोड्ने कोदारी र रसुवागढी राजमार्गमा पुगेको उनले जानकारी दिए ।

कोदारी राजमार्गको इको भन्ने स्थानमा ठुलो र जोखिमपूर्ण पहिरो गएकाले तत्काल सडक खुलाउन कठिन रहेको उनले बताए । ‘त्यो पहिरो पुरानो र निकै अस्थिर प्रकृतिको छ । चिनियाँ पक्षले त्यहाँ सुरुङमार्ग बनाउने दीर्घकालीन प्रस्ताव गरेको छ, तर त्यसमा समय लाग्छ,’ उनले भने, ‘तत्कालका लागि हामीले पहिरोमा थप पानी नछिर्नका लागि प्लास्टिकले छोप्ने र १० दिनभित्र एकतर्फी बाटो खोल्ने प्रयास गरिरहेका छौं ।’

स्थानीयले दीर्घकालीन समाधानको लिखित प्रतिबद्धता मागेकाले काममा केही अवरोधसमेत भएको उनले समितिमा जानकारी गराए ।