काठमाडौँ । आर्थिक वर्ष २०८१–८२ को कार्यसम्पादन सम्झौतामा तोकिएका लक्ष्य पूरा गर्नेमा गृह मन्त्रालय पहिलो भएको छ ।  सबैभन्दा कमजोर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय देखिएको छ। भौतिक मन्त्रालयपछि सहरी विकास मन्त्रालय कार्यसम्पादनमा कमजोर छ।

सकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोन हासिलमा गृह मन्त्रालय पहिलो नम्बरमा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको भनाइ छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गृहले तोकिएका १०६ लक्ष्यमध्ये ९३ वटा पूरा गरेको छ भने १३ वटा लक्ष्यमा काम जारी छ। स्रोतका अनुसार शासकीय सुधारका क्षेत्रमा गृहले ८८ प्रतिशत प्रगति पूरा गरेको छ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार बजेट कार्यान्वयन समीक्षा क्रममा आर्थिक वर्ष २०८१–८२ का लागि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूबिच भएको कार्यसम्पादन सम्झौताअनुसार एक हजार नौ सय माइलस्टोन तय गरिएको थियो। जससमध्ये ६५ प्रतिशत अर्थात् एक हजार २३६ वटा लक्ष्य हासिल भएको छ।

यसैगरी उक्त आवमा ६६४ क्रियाकलापहरूमध्ये ५१९ सम्पन्न भएका छन्। हाल १२९ क्रियाकलाप चालु अवस्थामा छन्। प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आव २०८१-८२ मा समग्रमा ६३.२ प्रतिशत पुँजीगत खर्च भएको, आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको र प्रमुख कार्यसम्पादन सूचकहरू सकारात्मक छन्।


प्रधानमन्त्री कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को कार्ययोजनामा तीन सय ९२ कार्यसम्पादन सूचकहरू, सात सय तीनवटा क्रियाकलाप र एक हजार ८८ वटा माइलस्टोन छन्। चालु आवका लागि गत साउन २९ गते प्रधानमन्त्री ओलीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।
यस्तो छ मन्त्रालयगत प्रगती

गृह : ८८
संघीय : ८७
भूमि : ७८
प्रधानमन्त्री कार्यालय : ७७
पर्यटन : ७७
कानुन : ७६
परराष्ट्र : ७६
कृषि : ७४
वन : ७२
खानेपानी : ७२
सञ्चार : ६५
अर्थ : ५७
रक्षा : ५७
उद्योग : ५६
ऊर्जा : ५६
सहरी : ४५
भौतिक : ३६