
महेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन् । उनले नेकपा एमाले र नेपाली कांग्रेसबीचमा उच्च स्तरको सहमतिसहित गठबन्धन बनेकोले अस्थिरताका रोगीहरू छट्पटिएको बताए ।
सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनसम्म नै यो सरकार निरन्तर रहने बताए ।
उनले यसका लागि संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्न समेत आग्रह गरेका छन् । महासचिव पोखरेलले सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउने अस्थिरताका लागि विचित्रको रोग लागेको बताए ।
‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ,’ उनले भने, ‘तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोली ढल्छ भन्दै हल्ला चलाइरहेका छन् । उनीहरू अस्थिरताका रोगी हुन् ।’
कांग्रेस र एमाले बीचको गठबन्धन आगामी निर्वाचन सम्म नै जाने उनले बताए । कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै महासचिव पोखरेलले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको बताए ।
सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानुन नल्याउने महासचिव पोखरेल स्पष्ट पारे । उनले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याइन लागेका बताए ।







Facebook Comments