
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द भएको छ । वर्षाले क्षति पुर्याएको करिब १ सय ५० किमि सडक मर्मत गर्नु परेकोले जिप सफारी रोकिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जभित्रका सडकमा रुख ढलिएको छ । करिब एक महिनाभित्र सडक निर्माण र रुख हटाइसक्ने निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । पर्यटकलाई असुविधा नहोस् भनी पथ प्रदर्शकबाट निकुञ्जको अवलोकन भइरहेको उनले जनाए ।
सफारी सेवा रोकिँदा पर्यटन व्यवसायी मर्कामा परेका छन् । वर्षायाममा पर्यटक कम आउने गरे पनि आएकाले जिप सफारी नै रोज्ने गरेको पर्यटन व्यवसायी रामजी बाबु थापाले बताए । निकुञ्जले छिटोभन्दा छिटो सडक मर्मत गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ ।
गत आर्थिक वर्ष ०८१/०८२ मा २८ हजार ६८ स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । तीमध्ये नेपाली १९ हजार १०, सार्कका १ हजार ५ सय ४० र विदेशी ७ हजार ५ सय १८ जना पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जमा आउने अधिकांश पर्यटकको रोजाइ बाघ हेर्ने आउने गरेको अधिकारीहरू बताउँछन् । यहाँ १ सय २५ बाघ, १ सय २० हात्ती र ३८ वटा गैंडा छन् । यीमध्ये कतिपय गैंडा सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा पुगेका छन् ।
निकुञ्जमा आउने पर्यटकले जिप सफारी र पैदल अवलोकन गर्ने गरेका छन् । बर्दिया निकुञ्जबाहिर ३० भन्दा बढी साना र ठूला होटल छन् । करिब २० वटा होमस्टे छन् ।
निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायतका ठाउँको अवलोकन गर्ने गरेको निकुञ्जले जनाएको छ । यसबाहेक यहाँ आउने पर्यटकले निकुञ्ज हातामा रहेको गोही, घडीयाल प्रजनन केन्द्र, थारु संग्रहालय अवलोकन गर्छन् । खोरमा रहेका दृष्टिविहीन गैंडा र समस्याग्रस्त बाघ पनि उनीहरुले हेर्ने गरेका छन् ।







Facebook Comments