काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् ।

मोदीको निम्तोपत्र लिएर आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए । उनले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

उक्त भेटमा मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । सोमबार मिश्री नेपाल भ्रमण सकेर दिल्ली फर्किएपछि नेपालस्थित भारतीय दूतावासले निकालेको विज्ञप्तीमा मोदीले ओलीलाई दुवै पक्षको अनुकूल हुनेगरी भारत भ्रमण गर्न निम्तो दिएका छन् ।

‘विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पक्षलाई अनुकूल हुने मितिमा भारतको भ्रमण गर्न भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दिनुभएको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुभयो,’  नेपालस्थित भारतीय दूताबासले सार्वजिनक गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले यही भदौ ३१ दुई दिने भारतको बोधगया भ्रमणमा जाने तयारी गरिरहेका छन् । यद्यपी यसको औपचारिक जानकारी भने नेपाल र भारत दुवै पक्षले सार्वजनिक गरिसकेका छैनन् ।