
दाङ । तुलसीपुरमा सोमबार एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ पुकार पसलनजिकै रहेको सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी भएको हो ।
सोमबार दिउँसो करिब ३ः१० बजे आगो लागेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक अनिल ठकुरीको कमान्डमा २५ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी, स्थानीय बासिन्दा, तुलसीपुर उपमहानगरपालिकाको दमकल र पानी ट्याङ्करको सहयोगमा आगो निभाइएको थियो ।
आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको ठकुरीले बताए । फर्निचर उद्योगका सञ्चालक तुलसीपुर उपमहानगरपालिका–५ ‘ग’ लाइनका ताराबहादुर वली रहेको उनले जानकारी दिए । आगलागीको कारण थाहा हुन सकेको छैन । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।







Facebook Comments